नेपालमा मातृभाषा शिक्षाको अवस्था !
- प्राज्ञ अमर तुम्याहाङ लेख सार नेपालको बहुभाषिकतालाई आत्मसात गर्दैै नेपालको संविधान, २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्र भाषाको मान्यता दिएको छ । यही परिप्रेक्ष्यमा नेपालमा बोलिने कुन कुन भाषाहरू शिक्षाका माध्यमका रूपमा प्रयोग भइआएका छन् र तिनको अवस्था कस्तो रहेको छ ? सो बारेमा चर्चा गर्नु यस लेखको मुख्य ध्येय हो । शिक्षामा मातृभाषाको अर्थ, शिक्षामा मातृभाषा प्रयोगसम्बन्धी कानुनी प्रावधानहरू, उक्त प्रावधानका आधारमा विद्यालय र विश्वविद्यालयको औपचारिक शिक्षामा मातृभाषाको प्रयोगको अवस्था, अनौपचारिक शिक्षामा मातृभाषाको प्रयोग, मातृभाषा शिक्षामा भएका उपलब्धिको लेखाजोखा, व्यवहारमा देखिएका समस्याहरू र शिक्षामा मातृभाषा पठनपाठनमा सुधार ल्यानका लागि केही सुझावहरू यस लेखमा समावेश छन् । शिक्षामा मातृभाषा “मातृभाषा” भन्नाले बालबालिकाले आफ्नो घर परिवारमा बोल्ने पहिलो भाषालाई जनाउँछ (बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका, २०६६: २) । मातृभाषी विद्यार्थीहरूलाई अध्यापन गराउँदा उनीहरूकै मातृभाषामा पढाउने कार्य नै शिक्षामा मातृभाषाको प्रयोग हो । सिल, यादव र कँडेल (२०७३) ...