नेपालमा मातृभाषा शिक्षाको अवस्था !
- प्राज्ञ अमर तुम्याहाङ
लेख सार
नेपालको बहुभाषिकतालाई आत्मसात गर्दैै नेपालको संविधान, २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्र भाषाको मान्यता दिएको छ । यही परिप्रेक्ष्यमा नेपालमा बोलिने कुन कुन भाषाहरू शिक्षाका माध्यमका रूपमा प्रयोग भइआएका छन् र तिनको अवस्था कस्तो रहेको छ ? सो बारेमा चर्चा गर्नु यस लेखको मुख्य ध्येय हो । शिक्षामा मातृभाषाको अर्थ, शिक्षामा मातृभाषा प्रयोगसम्बन्धी कानुनी प्रावधानहरू, उक्त प्रावधानका आधारमा विद्यालय र विश्वविद्यालयको औपचारिक शिक्षामा मातृभाषाको प्रयोगको अवस्था, अनौपचारिक शिक्षामा मातृभाषाको प्रयोग, मातृभाषा शिक्षामा भएका उपलब्धिको लेखाजोखा, व्यवहारमा देखिएका समस्याहरू र शिक्षामा मातृभाषा पठनपाठनमा सुधार ल्यानका लागि केही सुझावहरू यस लेखमा समावेश छन् ।
शिक्षामा मातृभाषा
“मातृभाषा” भन्नाले बालबालिकाले आफ्नो घर परिवारमा बोल्ने पहिलो भाषालाई जनाउँछ (बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका, २०६६: २) । मातृभाषी विद्यार्थीहरूलाई अध्यापन गराउँदा उनीहरूकै मातृभाषामा पढाउने कार्य नै शिक्षामा मातृभाषाको प्रयोग हो । सिल, यादव र कँडेल (२०७३) ले “शिक्षणका पूर्ण माध्यमका रूपमा मातृभाषा” प्रयोग गर्नुका साथै “आवश्यकता अनुसारको मौखिक सहयोगका रूपमा मातृभाषा” को प्रयोग गर्नुपर्ने धारणा अघि सारेका छन् ।
शिक्षामा मातृभाषा प्रयोगसम्बन्धी कानुनी प्रावधान
शिक्षामा मातृभाषाको प्रयोगको व्यवस्था संविधानले व्यवस्था गरेअनुसार हुने गर्दछ । संविधानले शिक्षामा मातृभाषाको प्रयोग निषेध गरे शिक्षामा मातृभाषाको प्रयोग हुँदैन । संविधानले शिक्षामा मातृभाषा प्रयोगको कुरो स्वीकार गरे यसको प्रयोग हुन्छ । नेपालको अन्तरिम संविधान २०६३ शिक्षामा मातृभाषा प्रयोगका लागि उदार संविधान हो तर यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेन ।
नेपालको अन्तरिम संविधान २०६३ को भाग १ को धारा ५ मा “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन्” भनी सबै मातृभाषालाई समान संवैधानिक मान्यता प्रदान गर्दै भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृतिसम्बन्धी हकमा लेखिएको छ : प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ (धारा १७.१) ।
यसरी नै मातृभाषा शिक्षा बारेमा नेपालको संविधान, २०७२ को भाग ३ को मौलिक हकको शिक्षा सम्बन्धी हकमा लेखिएको छ : नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ (धारा ३१.५) । संविधानमा भाग ५ को राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडबमोजिम अनुसूचीमा प्रदेश र स्थानीय तहको भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोगसम्बन्धी अधिकार समावेश गरिएको छ । मातृभाषा शिक्षा सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा “प्राथमिक शिक्षा मातृभाषामा दिन सकिनेछ ।” भनी दफा ७.२ (क)मा उल्लेख भएको छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण)मा पठनपाठन भाषाको सम्बन्धमा निम्न कुरा उल्लेख भएको छ :
- विद्यालय शिक्षाको सिकाइ सहजीकरण प्रक्रियाका लागि आधारभूत तहमा माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुने छ ।
- मातृभाषामा सिक्न पाउने बाल अधिकार सुनिश्चित गर्न विद्यालय तहमा मातृभाषालाई विषय र सिकाइको माध्यम भाषाका रूपमा प्रयोग गर्न सकिने छ । (पृ. ३५)
शिक्षामा मातृभाषाको प्रयोगका सम्बन्धमा संविधानदेखि ऐन, नियम, विनियममा विभिन्न व्यवस्था भएका छन् । तर ती व्यवस्थाको मर्मअनुसार व्यवहारमा शिक्षामा मातृभाषाको प्रयोग हुन सकेको देखिँदैन ।
शिक्षामा मातृभाषा प्रयोगको अवस्था
शिक्षामा मातृभाषा प्रयोगको अवस्था बारेमा छलफल गर्दा विद्यालय शिक्षा र उच्च शिक्षा दुवैलाई समेटेर हेर्नु सान्दर्भिक हुन्छ । विद्यालय शिक्षा भन्नाले कक्षा १–१२ र उच्च शिक्षा भन्नाले स्नातकदेखि माथिको शिक्षालाई बुझ्नु पर्दछ । पुनर्संरचित नेपालको विद्यालय शिक्षालाई कक्षा १–१२ सम्म हुने गरी व्यवस्था गरिएको छ । यस अनुसार १–२ वर्षसम्मको प्रारम्भिक बाल विकास र शिक्षा, कक्षा १–८ को आधारभूत शिक्षा र कक्षा ९–१२ को माध्यमिक शिक्षा (नेपालमा विद्यालय शिक्षाका लागि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०७६, दोस्रो संस्करण: ४५) को विद्यालय शिक्षाको संरचनात्मक प्रबन्ध भएको छ । यही संरचना अनुसार विद्यालय शिक्षामा मातृभाषा शिक्षाको व्यवस्था गरिएको छ । विद्यालय तहमा साधारण शिक्षा समूह र परम्परागत शिक्षा समूहमा विभाजन गरिएको पाइन्छ । यी दुवै समूह औपचारिक शिक्षाको रूपमा रहेका छन् ।
साधारण शिक्षा समूहका लागि पाठ्यक्रम
मातृभाषा शिक्षाको पाठ्यक्रम तथा पाठ्य पुस्तक विकासका लागि आधारभूत तह (कक्षा १—५) मार्गदर्शन पुस्तिका वि. सं. २०६४, आधारभूत तह (कक्षा ६—८) को मातृभाषा शिक्षाको पाठ्यक्रम तथा पाठ्य पुस्तक विकासका लागि मार्गदर्शन पुस्किात वि.सं. २०७०, कक्षा ९—१० मा नेपालका राष्ट्रभाषाहरू र परम्परागत धार्मिक शिक्षामा प्रयोग हुने मातृभाषाको पठन पाठनका लागि व्यवस्था भएको जिल्ला पाठ्यक्रम समन्वय समिति र क्षेत्रीय पाठ्यक्रम समन्वय समितिका कार्यव्यवस्था निर्देशिका २०६१ (पहिलो संशोधन २०६८), मातृभाषा शिक्षा कार्यान्वयन निर्देशिका २०६६ सबैलाई समेट्ने गरी ‘पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका २०७९’ बनेर कार्यान्वयनमा रहेको छ । यही निर्देशिकाले प्रारम्भिक बालविकास तथा शिक्षादेखि कक्षा बाह्रसम्मको समग्र विद्यालय शिक्षाका अनिवार्य तथा ऐच्छिक विषयको पाठ्यक्रम र पाठ्यसामग्री निर्माण कार्यको व्यवस्था गरेको छ ।
आधारभूत शिक्षा (कक्षा १–३) मा ५ पाठ्यघण्टा र १६० वार्षिक कार्यघण्टाको मातृभाषा सिप पाचौँ विषयका रुपमा राखिएको छ । तर यसका साथमा वैकल्पिक विषयका रुपमा स्थानीय विषयवस्तु सम्बन्धी क्रियाकलाप विषय जोडिएको छ । आधारभूत शिक्षा (कक्षा ४–५) मा ४ पाठ्यघण्टा र १२८ वार्षिक कार्यघण्टाको मातृभाषा सिप सातौँ विषयका रुपमा राखिएको छ । तर यसका साथमा वैकल्पिक विषयका रुपमा स्थानीय विषय राखिएको छ । आधारभूत शिक्षा (कक्षा ६–८) मा ४ पाठ्यघण्टा र १२८ वार्षिक कार्यघण्टाको मातृभाषा सिप सातौँ विषयका रुपमा राखिएको छ । तर यसका साथमा वैकल्पिक विषयका रुपमा स्थानीय विषय र संस्कृत भाषा जोडिएको छ ।
यसबाट के स्पष्ट हुन्छ भने मातृभाषा शिक्षा वैकल्पिक विषयको रुपमा मात्र राखिएको छ । त्यसै कारणले विद्यालयमा मातृभाषाको बदलामा कहीँ अङ्ग्रेजी, कहीँ कम्प्युटर, कहीँ स्थानीय विषय पढाइ भइरहेको व्यवहारमा देखिन्छ जो कानुनी रुपमा वैधानिक छैन ।
माध्यमिक शिक्षा (कक्षा ९–१०) ऐच्छिक पहिलो समूह मातृभाषा अध्ययन अध्यापनको व्यवस्था भएको देखिन्छ । यसरी नै माध्यमिक शिक्षा (कक्षा ११–१२) ऐच्छिक तेस्रो पत्रमा मातृभाषा अध्ययन अध्यापनको व्यवस्था भएको देखिन्छ ।
परम्परागत धार्मिक शिक्षा समूहका लागि पाठ्यक्रम
औपचारिक शिक्षा प्रणाली बाहिर रहेका तर आफ्नै स्रोत साधान र शिक्षण प्रक्रियाका माध्यमबाट शिक्षा प्रदान गरिरहेका गुम्बा, गुरुकुल, मदर्सा र मुन्धुम शिक्षा प्रणालीलाई राष्ट्रिय शिक्षा प्रणालीमा समाहीकरण गर्न र सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्न शिक्षा मन्त्रालयले गुम्बा, गुरुकुल, मदर्सा र मुन्धुम शिक्षा प्रणालीलाई मूल धारमा समाहीकरण गर्ने कार्यक्रम अगाडि सारेको छ । यही कार्यक्रम अनुसार मदर्सा शिक्षाको पाठ्यक्रम आधारभूत तह कक्षा १—५ (२०६८), गुरुकुल शिक्षाको पाठ्यक्रम प्राथमिक तह कक्षा १—५ (२०६५), गोन्पा (गुम्बा) शिक्षाको पाठ्यक्रम प्राथमिक तह कक्षा १—५ (२०६५) र मुन्धुम शिक्षाको पाठ्यक्रम प्राथमिक तह कक्षा १—५ (२०७२) निर्माण भई कार्यान्वयनमा रहेको छ । यसरी नै संस्कृत र वेदविद्याश्रम माध्यमिक विद्यालय कक्षा ९ र १० (२०६८) पाठ्यक्रम निर्माण भएको छ भने कक्षा ९–१२ को पाठ्यक्रम संरचना २०६९ मा गुरुकुल, मदर्सा र गोन्पा शिक्षाको पाठ्यक्रमको व्यवस्था भएको देखिन्छ ।
शिक्षामा मातृभाषा
शिक्षामा मातृभाषा भन्नाले (क) शिक्षाको माध्यमको रूपमा मातृभाषा र (ख) विषयको रूपमा मातृभाषा (बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका २०६६: ३) बुझिन्छ । शिक्षाको माध्यमको रूपमा मातृभाषा भन्नाले भाषा विषय (नेपाली र अङ्ग्रेजी) बाहेकका सबै विषयको शिक्षण सिकाइको माध्यम भाषा सामान्यतया स्थानीय भाषा हुने छ भनिए पनि यो औपचारिक र समग्र रूपमा व्यवहारमा लागू भएको अवस्था छैन । विषयका रूपमा आधारभूत तह कक्षा १–५ का लागि २०५५ देखि निम्न भाषाका पाठ्यपुस्तकहरू निर्माण भई छापिँदै आएका र छिटफुट रूपमा पठनपाठन भइआएको पाइन्छ ।
२०५५ देखि २०७४ असार सम्ममा यसरी तयार भएका पाठ्यपुस्तकहरूमा १. मैथिली (कक्षा १—८), २. भोजपुरी (कक्षा १—८), ३. अवधी (कक्षा १—६), ४. तामाङ (कक्षा १—५), ५. लिम्बु (कक्षा १—८), ६. बान्तावा राई (कक्षा १—५), ७. चाम्लिङ राई (कक्षा १—५), ८. सेर्पा (कक्षा १—५), ९. गुरुङ (कक्षा १—५), १०. मगर (कक्षा १—५), ११. नेवार (नेपाल भाषा) (कक्षा १—५), १२. थारू (कक्षा १—५), १३. सुनुवार (कक्षा १—५), १४. राजबंशी (कक्षा १—५), १५. याक्खा (कक्षा १—५), १६. मुगाली (कक्षा १—५), १७. थारू (मध्य क्षेत्र) (कक्षा १—५), १८. तामाङ (सम्भोटा) (कक्षा १—५), १९. धिमाल (कक्षा १—५), २०. मगर (अठार मगरात) (कक्षा १—८), २१. बज्जिका (कक्षा १—५), २२. कुलुङ (कक्षा १—८), २३. चेपाङ (कक्षा ५), २४. खालिङ राई (कक्षा १—५) र २५. Early Grade Reading Program (EGRP) का आधारमा निर्माण भएको राना थारू भाषा (कक्षा १) रहेका छन् ।
पाठ्यपुस्तकबाट प्राप्त हुन नसकेका पाठ्यक्रमका उद्देश्यलाई प्राप्त गरी आफ्नो ज्ञान, सीप वा अभिवृत्तिको विकास गर्न प्राथमिक तहका विद्यार्थीहरू सक्षम होऊन् र अन्तत: व्यक्तिमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन भइ सिर्जनशील नागरिकको विकास हुन सकोस् भन्ने मूल उद्देश्य (बालबोध–३६, २०५९: ग) राखेर बाल सन्दर्भ सामग्रीहरू पाठ्यक्रम विकास केन्द्रले निर्माण गर्ने गरेको छ । यसै क्रममा प्रत्येक मातृभाषामा कथा, जीवनी र संस्कृति गरी तिन तिन वटा बाल सन्दर्भ सामग्री पाठ्यक्रम विकास केन्द्रबाट बनेका छन् । यसरी बनेका बाल सन्दर्भ सामग्रीहरू १. मैथिली २. भोजपुरी, ३. लिम्बु, ४. थारू, ५. अवधी, ६. मगर, ७. नेवार (नेपाल भाषा), ८. डोटेली, ९. थकाली, १०. चाम्लिङ राई, ११. गुरुङ, १२. सेर्पा, १३. बान्तावा राई, १४. उर्दू र १५. संस्कृत भाषाका रहेका छन् ।
परम्परागत शिक्षा : विद्यालय तह
गोन्पा (गुम्बा) शिक्षा
गोन्पा (गुम्बा) शिक्षाको पाठ्यक्रम आधारभूत तह कक्षा १–५ (२०६५: ३) अनुसार गोन्पा (गुम्बा) शिक्षा कक्षा १–३ र कक्षा ४–५ गरी दुई खण्डमा निम्न अनुसार विभाजन गरिएको पाइन्छ ।
गोन्पा (गुम्बा) शिक्षा कक्षा १–३ मा १०० पूर्णाङ्क र ६ पाठ्यभारका सामाजिक अध्ययन तथा सिर्जनात्मक कला र स्थानीय विषय — भोट भाषा गरी दुई विषय पढाइ हुन्छन् । कक्षा ४ र ५ मा ५ पाठ्यभार र ७५ पूर्णाङ्कको सामाजिक अध्ययन, ३ पाठ्यभार र २५ पूर्णाङ्कको सिर्जनात्मक कला र ६ पाठ्यभार र १०० पूर्णाङ्कको स्थानीय विषय – भोट भाषा पढाउने व्यवस्था रहेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयको मिति २०७०/०१/२१ को निर्णय अनुसार परीक्षणका लागि स्वीकृत कक्षा ९–१२ को पाठ्यक्रम संरचना (२०६९: ८–९) अनुसार परम्परागत धार्मिक शिक्षा समूह अन्तरगत गोन्पा शिक्षा कक्षा ९–१० र कक्षा ११–१२ गरी दुई खण्डमा निम्न अनुसार विभाजन गरिएको पाइन्छ ।
मदर्सा शिक्षा
मदर्सा शिक्षाको पाठ्यक्रम आधारभूत तह कक्षा १–३ (२०६५: ३) अनुसार ३ पाठ्यभार र ५० पूर्णाङ्कको सामाजिक (उर्दू भाषामा), ४ पाठ्यभार र १०० पूर्णाङ्कको दिनियात विषय, ३/३ पाठ्यभार र ५०/५० पूर्णाङ्कको अरेबिक भाषा र उर्दू भाषा पठनपाठन हुन्छ ।
मदर्सा शिक्षा कक्षा ४ र ५ मा ४ पाठ्भार र ५० पूर्णाङ्कको सामाजिक अध्ययन (उर्दूभाषामा), ६ पाठ्यभार र १०० पूर्णाङ्कको दिनियात, ७ पाठ्यभार र १०० पूर्णाङ्कको अरेबिक भाषा र उर्दू भाषा पठनपाठन हुने व्यवस्था छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले आधारभूत तह कक्षा ६ देखि ८ तह ३ मा गोन्पा तथा बिहार र मदर्सा शिक्षालाई एउटै विषयगत संरचनामा राखिएको छ । यस अनुसार गोन्पा तथा बिहार/मदर्सा शिक्षा कक्षा ६–८ को पाठ्यक्रमको विषयगत संरचना तपसिल बमोजिम रहेको छ :
गोन्पा तथा बिहार (कक्षा ६–८) मा अनिवार्य नेपाली, अङ्ग्रेजी, गरिणतका अलावा विज्ञान तथा प्रविधि विषय वा त्यसको बदलामा ५ पाठ्यघण्टा र १६० वार्षिक कार्यघण्टाको बौद्ध दर्शन, ५ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १६० को सामाजिक अध्ययन र मानवमूल्य शिक्षा (परम्परागत शिक्षा अध्यापन हुने सम्बन्धित भाषामा), ४ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १२८ को भोट भाषा वा पाली भाषा, ३ पाठ्यघण्टा र ९६ वार्षिक कार्यघण्टाको स्थानीय विषय वा बौद्ध शिक्षा वा सम्भोटा व्याकरण वा अन्य विषय पढाउने व्यवस्था छ ।
मदर्सा शिक्षा (कक्षा ६–८) मा अनिवार्य नेपाली, अङ्ग्रेजी, गरिणतका अलावा विज्ञान तथा प्रविधि विषय वा त्यसको बदलामा ५ पाठ्यघण्टा र १६० वार्षिक कार्यकघण्टाको दिनियात, ५ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १६० को सामाजिक अध्ययन र मानवमूल्य शिक्षा (सम्बन्धित परम्परागत शिक्षा अध्यापन हुने भाषामा), ४ पाठ्यघण्टा र १२८ वार्षिक कार्यघण्टाको उर्दूभाषा र ३ पाठ्यघण्टा र ९६ वार्षिक कार्यघण्टाको आचार शिक्षा (दिनियात)/कुरान (अरबिक) विषय अध्यापन हुन्छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले माध्यामिक तह कक्षा ९ – १० तह ४ मा गोन्पा तथा बिहार र मदर्सा शिक्षालाई एउटै विषयगत संरचनामा राखिएको छ । यस संरचना अनुसार गोन्पा तथा बिहार शिक्षा कक्षा ९–१० को पाठ्यक्रमको संरचना पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को बौद्ध दर्शन, पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को सामाजिक अध्ययन (परम्परागत शिक्षा अध्यापन हुने सम्बन्धित भाषामा), ऐच्छिक प्रथममा पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ को भोट भाषा र ऐच्छिक द्वितीयमा पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ को बौद्घ शिक्षा पठनपाठन गर्न सकिने छ । त्यसै गरी विहार शिक्षातर्फ साधारण शिक्षाको ऐच्छिक विषयका अतिरिक्त ऐच्छिक प्रथममा पालि भाषा र ऐच्छिक द्वितीयमा परियती शिक्षा पठन पाठन गर्न सकिने छ ।
मदर्सा शिक्षा कक्षा ९–१० को पाठ्यक्रमको विषयगत संरचना पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को दिनियात, पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को सामाजिक अध्ययन (परम्परागत शिक्षा अध्यापन हुने सम्बन्धित भाषामा), अरेबिक भाषा साहित्य र व्याकरण तथा उर्दू भाषा साहित्य र व्याकरण विषय पठनपाठन गर्न सकिने व्यवस्था छ ।
गोन्पा तथा विहार शिक्षा (कक्षा ११–१२) को पाठ्यक्रम संरचना पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ को बौद्ध शिक्षा, पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (अनुकूलित), ऐच्छिक प्रथम (बौद्ध दर्शन), ऐच्छिक द्वितीय (ज्योतिष, भैषज्य, शिल्प विद्या, बौद्ध कर्मकाण्ड, सम्भोटा व्याकरण), ऐच्छिक तृतीय (भोट भाषा) व्यवस्था छ । ऐच्छिक प्रथम, द्वितीय र तृतीय तीन वटै विषयको पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० रहेको छ ।
मदर्सा शिक्षा (कक्षा ११—१२) को पाठ्यक्रम संरचना पाठ्यघण्टा ४ र वार्षिक कार्यघण्टा १२८ को उर्दू व्याकरण र साहित्य वा अरेबिक वा परियति शिक्षा, पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (अनुकूलित), ऐच्छिक प्रथम (कुरान वा इस्लामिक इतिहास), ऐच्छिक द्वितीय (हदिस ), ऐच्छिक तृतीय फिक्ह विषयको व्यवस्था छ । ऐच्छिक प्रथम, द्वितीय र तृतीय तीन वटै विषयको पाठ्यघण्टा ५ र वार्षिक कार्यघण्टा १६० रहेको छ ।
गुरुकुल शिक्षा
गुरुकुल शिक्षाको पाठ्यक्रम आधारभूत तह कक्षा १–५ (२०६५: ३) अनुसार गुरुकुल शिक्षा कक्षा १–३ र कक्षा ४–५ मा विभाजन गरेको देखिन्छ । गुरुकुल शिक्षा कक्षा १–३ मा पाठ्यभार ६ र पूर्णाङ्क १०० को संस्कृत रचना र कक्षा ४–५ मा पाठ्यभार ५ र पूर्णाङ्क १०० को संस्कृत रचना, पाठ्यभार ४ र पूर्णाङ्क ५० को संस्कृत व्याकरण, सदाचार शिक्षा (नित्यकर्म), पाठ्यभार ६ र पूर्णाङ्क १०० को वेद/नीतिशास्त्र विषय पठान पाठनको व्यवस्था गरिएको छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले आधारभूत तह कक्षा ६–८ तह ३ मा संस्कृत/गुरुकुल/वेद विद्यालय शिक्षालाई एउटै विषयगत संरचनामा राखिएको छ । यस अनुसार संस्कृत/गुरुकुल/वेद विद्यालय शिक्षा कक्षा ६–८ को पाठ्यक्रमको विषयगत संरचनामा ५ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १६० को संस्कृत रचना, ५ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १६० को वेद, ५ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १६० को कर्मकाण्ड, ४ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा १२८ को संस्कृत व्याकरण/नीति शास्त्र तथा ३ पाठ्यघण्टा र वार्षिक कार्यघण्टा ९६ को संस्कृत भाषा विषय पठन पाठनको व्यवस्था भएको देखिन्छ ।
माध्यमिक शिक्षा पाठ्यक्रम २०६८ अनुसार संस्कृत माध्यमिक शिक्षालाई संस्कृत र वेदविद्याश्रम माध्यमिक विद्यालय (पृ. ५–६) मा विभाजन गरिएको थियो । परम्परागत शिक्षा समूह अन्तरगत गुरुकुल शिक्षा कक्षा ९–१० र कक्षा ११–१२ गरी दुई खण्डमा विभाजन गरिएको पाइन्छ ।
संस्कृत/वेद विद्याश्रम/गुरुकुल शिक्षा (कक्षा ९—१०) मा ५ पाठ्यघण्टा १६० वार्षिकको संस्कृत रचना तथा वेद/नीतिशास्त्र, स्कृत भाषा तथा व्याकरण, ऐच्छिक पहिलो (कर्मकाण्ड, फलित ज्योतिष, योग शिक्षा, वास्तुशास्त्र, आयुर्वेद, प्राकृतिक चिकित्सा र ऐच्छिक गणित विषयमध्ये एक) र ऐच्छिक द्वितीय पत्रमा संस्कृतका शास्त्रीय विषयमध्ये कुनै एक विषय छनोट गर्नुपर्ने व्यवस्था छ । संस्कृत भाषा तथा व्याकरण, ऐच्छिक पहिलो र द्वितीयको समान ४ पाठ्यघण्टा १२८ वार्षिकको कार्यघण्टा रहेको छ ।
संस्कृत/वेद विद्याश्रम/गुरुकुल शिक्षा (कक्षा ११—१२) मा ४ पाठ्यघण्टा १२८ वार्षिक कार्यघण्टाको संस्कृत रचना, ५ पाठ्यघण्टा १६० वार्षिक कार्यघण्टाको स्कृत भाषा तथा व्याकरण विषय पठन पाठनको व्यवस्था छ ।
त्रिभुवन विश्व विद्यालयबाट प्रवीणता प्रमाणपत्र तह फेज आउट भएपछि माध्यमिक तहको कक्षा ११ र १२ मा प्रवीणता प्रमाणपत्र तहमा पठन पाठन भएका मैथिली र नेपाल भाषा पठन पाठन हुन थालेका हुन् ।
उच्च शिक्षामा मातृभाषा अध्ययन अध्यापन
त्रिभुवन विश्वविद्यालयमा दर्जन बढी अन्तर्राष्ट्रिय र शास्त्रीय भाषाहरू पठन पाठन भए पनि नेपाली माटोका भाषाहरूमा मैथिली र नेपाल भाषा मात्र पठन पाठन भइआइका छन् । यी भाषाहरू पनि पञ्चायत प्रजातन्त्र पुनरप्राप्ति पूर्वबाट पठनपाठन भइआएका हुन् । संस्कृत विश्वविद्यालयमा भने गणतन्त्र प्राप्तिपछि लिम्बु र थारू भाषाका पाठ्यक्रम निर्माण भएका छन् ।
शिक्षामा मातृभाषा (अनौपचारिक शिक्षा)
अनौपचारिक शिक्षा केन्द्रले मैथिली, भोजपुरी, अवधि, थारू, लिम्बु, बान्तावा राई लगायत १४ वटा मातृ भाषामा पाठ्यपुस्तक र सहयोगी पुस्तक प्रकाशन गरेको छ र फाटफुट पठन पाठन पनि भइरहेको छ ।
मातृभाषा शिक्षा: माध्यमको रूपमा र विषयको रूपमा
शिक्षामा प्रयोग भइरहेको मातृभाषा शिक्षालाई माध्यमको रूपमा र विषयको रूपमा निम्न अनुसार विभाजन गरिएको पाइन्छ ।
माध्यमको रूपमा शिक्षामा मातृभाषा
शिक्षा विभागले २०६३ देखि नेपालका आठ वटा मातृभाषाहरू (१. राना थारू, २. पाल्पा मगर, ३. रसुवा तामाङ, ४. आठपहरिया, ५. उराव, ६. पूर्वीय थारू, ७. सन्थाल, ८. राजवंशी) मा बहुभाषिक शिक्षा अर्थात् मातृभाषा माध्यम भाषाको रूपमा शिक्षण गर्न आरम्भ गरी २०१५ सम्ममा ७५०० विद्यालयमा मातृभाषा माध्यममा पठन पाठन गर्ने योजना नेपाल सरकारको भए पनि यसले कुनै गति लिन सकेन ।
विद्यालय शिक्षाको सिकाइ सहजीकरण प्रव्रिmयाका लागि आधारभूत तहमा माध्यम भाषा मातृभाषा वा नेपाली भाषा हुने साथै सामाजिक अध्ययन र मानवमूल्य/चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरूबाहेक अन्य विषयका लागि भने अङ्ग्रेजीलाई पनि माध्यम भाषा बनाउन सकिने नीति अवलम्बन गरिने भनिएको छ । तर व्यवहारमा मातृभाषा प्रयोग हुने गरेको छैन र त्यसको ठाउँमा नेपाली र अङ्ग्रेजी प्रयोग हुने गरेको छ ।
माध्यमिक तहमा भने नेपाली वा अङ्ग्रेजी माध्यम भाषा हुने छ तर सामाजिक अध्ययन र मानवमूल्य/चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरूको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुने व्यवस्था गरिएको छ । यहाँ मातृभाषाको उल्लेख पाइन्न ।
विषयको रूपमा मातृभाषा शिक्षा
आधारभूत तह, माध्यमिक तह र विश्वविद्याल तहमा पठनपान हुने माथि उल्लेखित सम्पूर्ण औपचारिक शिक्षाका विषयहरू मातृभाषा विषयका रूपमा पठन पाठन हुने मातृभाषाहरू हुन् ।
मातृभाषा शिक्षामा भएका उपलब्धिको लेखाजोखा
त्रिभुवन विश्व विद्यालयमा मैथिली र नेपाल भाषाको पठन पाठन पञ्चायत कालदेखि नै सुरु भएको हो । २०४६ सालको जनआन्दोलन पछि पुनरस्थापित प्रजातन्त्र, २०६२/६३ को लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने युगान्तकारी आन्दोलनपछि भएको आमूल परिवर्तनपछि त्रिभुवन विश्व विद्यालयले कुनै पनि मातृभाषामा शिक्षा दिने काम गरेको पाइएको छैन । यसरी नै अङ्ग्रेजी, उर्दू, चिनियाँ, जर्मन, कोरियन, स्पेनिस, मलाया, संस्कृत, भोटभाषा, अरेबिक, जापानिज, बङ्गाली, हिब्रू, हिन्दी जस्ता अन्तर्राष्ट्रिय र शास्त्रीय भाषाहरू माध्यमिक तहमा पञ्चायत कालदेखि नै पठन पाठन भइआएका थिए । नेपालका राष्ट्र भाषाहरू मध्ये मैथिली र नेपाल भाषा पनि पञ्चायत कालदेखि नै पठन पाठन हुँदै आएका हुन् । २०४६ को प्रजातन्त्रको पुनरस्थापना पछि आधारभूत तहमा शिक्षामा मातृभाषाको प्रयोग आरम्भ भएर २०७४ सम्ममा २५ वटा मातृभाषामा अध्ययन अध्यापन गर्न गराउनका लागि पाठ्य पुस्तक तयार गर्ने काम भएको छ । आश्चर्यको विषय के भने २०४६ को प्रजातन्त्रको पुनरस्थापना र २०६२/६३ को जनआन्दोलन पछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि माध्यमिक तहको शिक्षामा थप मातृभाषाको प्रयोग आरम्भ भएको देखिएको छैन । यसर्थ आधारभूत तहको शिक्षामा मातृभाषाको प्रयोग केही मात्रामा भए पनि माध्यमिक तहमा राष्ट्र भाषाहरू अर्थात् मातृभाषाहरूमा पठन पाठन भएको पाइएको छैन । २०४६ साल पूर्व मातृभाषा शिक्षामा चर्चा नभए पनि मैथिली र नेपाल भाषामा पठन पाठन भए । प्रजातन्त्र र लोकतन्त्र कालमा मातृभाषा शिक्षाको चर्चा बढी र काम कम भएको प्रतीत हुन्छ ।
मातृभाषा (विषय र माध्यम, औचारिक र अनौपचारिक) शिक्षाका समस्याहरू
२०५४/५५ देखि मातृभाषामा पठनपाठन भइ आएको देखिए पनि मूलत: आधारभूत तहको विषयको रूपमा शिक्षामा मातृभाषा पठन पाठन कार्य प्राय: शून्यको अवस्थामा रहेको छ । पाठ्यपुस्तकको उपलब्धता नहुनुका साथै शिक्षक कोटाका अभावले यसको कार्यान्वयन हुन नसकिरहेको हो । माध्यम भाषाको रूपमा मातृभाषा शिक्षा अनौपचारिक रूपमा चलिरहेको छ तर सरकारले यसलाई औपचारिकता दिन सकिरहेको छैन । मातृभाषामा अनौपचारिक शिक्षाको कार्यान्वयन प्राय: शून्य जस्तै छ । यसका निम्न कारण रहेका छन् :
१. लाइन एजेन्सीका कर्मचारीले यस विषयलाई सकारात्मक रूपमा लिन नसक्नु ।
२. अनौपचारिक शिक्षाको सङ्घ, प्रदेश र स्थानीयतहका सम्पूर्ण अङ्गले मातृभाषामा अनौपचारिक शिक्षाका लागि योजना नबनाउने, चासो नदिने गरेको ।
३. पाठ्य सामग्री उलब्ध नहुनु ।
४. आफ्नो भाषामा पाठ्यपुस्तक बनेको कुरा सम्बन्धित समुदायलाई थाहा नहुनु आदि ।
औपचारिक शिक्षाको आधारभूत तह (कक्षा ६—८) र माध्यमिक शिक्षा तह (कक्षा ९–१२) मा मातृभाषी समुदायबाट पठन पाठनको माग गर्नुका साथै मातृभाषा पाठ्यक्रम मार्गदर्शन निर्देशिका बने पनि पाठ्य पुस्तक लेखन कार्य स्थानीय तहमा दिइएको बहानामा पाठ्यक्रम विकास केन्द्रले विषयका रूपमा पठन पाठन हुने आधारभूत तह (कक्षा ६–८) को मातृभाषाको पाठ्य पुस्तक लेखन प्राथमिकता पूर्वक काम गरेको देखिँदैन । यसरी मातृभाषाको पाठ्यपुस्तक लेखन स्थानीय तहमा दिनाले मातृभाषाहरू स्तरीकरण हुँदै जानुको बदलामा भाषिकीकरण हुँदै जाने भाषा स्तरीकरणको उल्टो यात्रामा हिँड्ने काम भएको छ । यस प्रकारको कार्यले भाषाहरू विभाजित हुँदै जाने अवस्था सिर्जना गरेको छ । मातृभाषाका आधारभूत तह कक्षा ६–८ को पाठ्यपुस्तकहरू नलेखिनाले माध्यमिक तह कक्षा ९–१२ मा समेत मातृभाषी विद्यार्थीले ऐच्छिक मातृभाषा विषय पढ्न पाएका छैनन् ।
तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रले सञ्चालन गर्ने गरेको बहुभाषिक शिक्षक तालिम अन्य विषयको जस्तै व्यवस्थित हुन सकेको थिएन भने माध्यमिक तहका शिक्षकका लागि मातृभाषा शिक्षा अध्यापन गर्न गराउन कुनै तालिमको व्यवस्था गरेको थिएन । वर्तमान अजस्थामा शिक्षक तालिम प्रदेश सरकारको कार्यक्षेत्रमा गएको छ र प्रदेश स्तरीय शिक्षा तालिम केन्द्रहरु रहेका छन् । तिनले प्रदेश अन्तर्गत स्थानीय तहका शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति र विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुको वृत्ति विकास सम्बन्धी तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको देखिन्छ । यिनले मातृभाषा शिक्षकका लागि कुनै तालिम दिएको देखिँदैन । मातृभाषामा स्थायी कोटामा शिक्षकहरु कार्यरत नहुनाले तालिमको व्यवस्था नभएको हुनुपर्दछ ।
मातृभाषी सामुदायले त्रिभुवन विश्व विद्यालय स्तरमा मातृभाषा विषयहरू पठनपाठनको माग गरे पनि आजसम्म सुनुवाइ भएको छैन । संस्कृत विश्व विद्यालयमा लिम्बु र थारू भाषाको पाठ्यक्रम बने पनि विभाग निर्माण नभएको र शिक्षकको व्यवस्था नभएका कारण पठन पाठन हुन सकेको छैन ।
शिक्षामा मातृभाषा सुधारका लागि केही सुझावहरू
शिक्षामा मातृभाषा अध्ययन अध्यापनमा देखिएका समस्याहरू समाधान गर्नका लागि निम्न प्रयत्नहरू गरिनु वाञ्छनीय हुन्छ ।
- संवैधानिक र कानुनी रूपमा मातृभाषा शिक्षालाई अरू व्यवस्थित गर्न संवैधानिक र कानुनी सुधार गरिनु पर्छ।
- बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिकाको पूर्ण कार्यान्वयन हुनुपर्छ ।
- शिक्षामा मातृभाषा व्यवस्थित पठनपाठनका लागि शिक्षासँग सम्बन्धित तत्तत् लाइन एजेन्सीका तहमा मातृभाषा शिक्षा कार्यान्वयन र रेखदेख गर्ने शाखाहरूको व्यवस्था र सम्बन्धित भाषी कर्मचारीको व्यवस्था गरिनु पर्छ ।
- मातृभाषा शिक्षक कोटाको व्यवस्था गरिनु पर्छ ।
- मातृभाषाका पाठ्य पुस्तक अरू विषयका पाठ्य पुस्तकहरू सरह जनक शिक्षा सामग्री केन्द्रले नै छापी सबै पाठ्प पुस्तकहरू सँगै मातृभाषी विद्यार्थीहरूलाई वितरण गर्नु पर्ने व्यवस्था नेपाल सरकारले गर्नुपर्छ ।
सन्दर्भ सामग्रीहरू
उच्च माध्यमिक विद्यालय पाठ्यक्रम कक्षा ११ (संसोधन सहित, २०६९), उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुर ।
उच्च माध्यमिक विद्यालय पाठ्यक्रम कक्षा १२, (२०५६), उच्च माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा, सानोठिमी, भक्तपुर ।
कक्षा ९–१२ को पाठ्यक्रम संरचना, (२०६९), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
गुरुकुल शिक्षाको पाठ्यक्रम, प्राथमिक तह, कक्षा १–५, (२०६५), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
गोन्पा (गुम्बा) शिक्षाको पाठ्यक्रम, प्राथमिक तह, कक्षा १–५, (२०६५), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
तामाङ, अमृत योञ्जन, (२०६९), बहुभाषिक शिक्षाका कुरा, तामाङ समाज जापान, टोकियो ।
नेपालको अन्तरिम संविधान, (२०६३), नेपाल सरकार, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, कानुन किताब व्यवस्था समिति, काठमाडौँ ।
नेपालको संविधान, (२०७२), नेपाल सरकार, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, काठमाडौँ ।
नेपालमा विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, (२०६३), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
नेपालमा विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, (२०७६), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका, (२०७९), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
बहुभाषिक शिक्षा कार्यान्वय निर्देशिका, (२०६६), नेपाल सरकार शिक्षा मन्त्रालय, केशरमहल, काठमाडौँ ।
बाल सन्दर्भ सामग्री बालबोध–३६, केही धार्मिक तथा सांस्कृतिक सम्पादाहरू (केही नमुना कलाकृतिहरू), (२०५९), श्री ५ को सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
मदर्सा शिक्षाको पाठ्यक्रम, आधारभूत तह, कक्षा १–५, (२०६८), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
मातृभाषाको नमुना पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासका लागि मार्गदर्शन पुस्तिका, कक्षा ६–८, (२०६४), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
मातृभाषाको पाठ्यक्रम तथा पाठ्य पुस्तक विकासका लागि मार्गदर्शन पुस्तिका, आधारभूत तह (कक्षा ६–८) (परीक्षणका लागि), (२०७०), नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
माध्यमिक शिक्षा पाठ्यक्रम, (२०६८), कक्षा ९ र १० संस्कृत र वेदविद्याश्रम माध्यमिक विद्यालय, नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
राष्ट्रिय भाषा (मातृभाषा) को पाठ्यक्रम प्राथमिक तथा पाठ्यपुस्तक विकास निर्देशिका, (२०६०), श्री ५ को सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुर ।
सील, अमान्डा, यादव, योगेन्द्र प्रसाद र कँडेल, सदानन्द (२०७३), शिक्षणको माध्यम र शिक्षाका भाषाहरू नेपालमा शिक्षाका नीति, योजना र अभ्यासका लागि अबको बाटो, ट्रान्सेन्ड भिजन नेपाल ।
स्रोत: भाषालोक (अनुसन्धानमूलक पत्रिका), २०८०, भाषा आयोग, काठमाडौँ, पे. १–११ ।


Comments
Post a Comment