याक्थुङ लिम्बु प्रदर्शन कला ‘या? ला:ङ्’ !
- प्राज्ञ अमर तुम्याहाङ
येहाङ लाओती
कार्यपत्रको सार
याक्थुङ लिम्बु जाति आफ्नो मौलिक भाषा, संस्कृति, कला, जीवनदर्शन, जीवन बाँच्ने पृथक पद्धति भएको जाति हो । यस जातिमा मौलिक लोक नाच, भाका र गायकी पनि युगौँदेखि प्रयोग भइआएका छन् । यिनको प्राचीनता याक्थुङहरूको शास्त्र मुन्धुम, कृषियुग, सिकारी युगआदिसँग जोडिने गरेको पाइन्छ । यस्तै धेरै लोक नाच परम्परामध्ये धान नाच र त्यससँग जोडिएको पालाम बारेमा यस पत्रमा चर्चा गरिएको छ । प्रदर्शन कला धान नाच र त्यससँग सम्बन्धित गायन पालामको आफ्नै प्रकारको प्राकृतिक वृत्त रहेको छ । यहाँ धान नाचको उद्भव, विकास, धान नाचका प्रकार, पालाम (सङ्क्षिप्त वर्णन) र धान नाचको अवस्था र उपादेयताबारेमा चर्चा गरिएको छ ।
शब्दकुञ्जी
कि?लिक्क्या, कुसरक्पा, के़ङ्जोली, ख्याली, ताम्राङ्ग्या, पालाम्, या? ला:क्, या? ला:ङ्, सिर्धाप्प्या ।
विषय प्रवेश
याक्थुङ लिम्बु जातिमा कृषिसँग सम्बन्धित प्रदर्शनकारी कलाहरू ‘ताम्अ:क्मा ला:ङ्’ (मकै गोड्दा नाचिने नाच), या? ला:ङ् (धान नाच), फुङ्सोक (गुरुपूजा) मा प्रदर्शन गरिने धानको बिउ राख्ने, रोप्ने, गोड्ने, थन्कयाउने, कुट्ने, पाकाउने आदि मुन्धुमी प्रदर्शन, सुभाङ्गी प्रथा रहेको अवस्थामा असार १५ का दिन सुभा (सुब्बा)को खेतको मूल गरोमा रैतीले गरिदिने पेथि (बेठी) हुन् ।
ताम्अ:क्मा ला:ङ् मेक्सिको वा दक्षिण तथा मध्य अमेरिकामा उद्विकास भएर मध्य–अमेरिकामा खेती सुरु भएर १६ औँ सताब्दी ताका युरोप, दक्षिण एसिया हुँदै नेपालको लिम्बुवान ल्याइपुर्याइएको मकै (कमल मादेन, २०८०) खेती गर्दा विशेष गरी मकै गोड्दा ढिलो लयमा गीत गाउँदै पङ्तिबद्ध खोतालाहरूले हात र खुट्टाको गति मिलाएर एकै लयमा खोदालाले मेलो खन्ने नाच हो । यो प्रदर्शकारी कला ताम्अ:क्माबाट ताम्अ:क्के हुँदै ताम्के नामले चिनिन्छ । पेथि (बेठी) जो छ, सुभाङ्गी उन्मूलनसँगै अहिले पूरै लोप भएको छ ।
यद्यपि, याक्थुङ लिम्बु समाजमा सर्वाधिक प्रख्यात नाच या? ला:क्मा (शर्मा, २०५८) अर्थात् धान नाच जो कृषि कर्मसँग जोडिएको या? ला:ङ् (धान नाच) बारेमा यहाँ मूल रूपमा चर्चा गरिएको छ ।
शब्द व्युत्पत्ति
‘या? ला:क्’ (धान/नल/पराल टेकाइ), ‘या? ला:क्मा’ (धान/नल/पराल टेक्नु), ‘या? ला:ङ्’ (धान नाच) शाब्दिक अर्थ हुन आउँछ जसले मूलत: कृषि कर्म जनाउँछ र आलङ्कारिक रूपमा धान नाच वा धान नाच नाच्नु पनि जनाउँछ । यी क्रिया शरीरका अङ्गहरूले गर्ने क्रिया हो जुन मूलत: कृषि कर्मसँग सम्बन्धित हुन आउँछ । प्रदर्शन कलाका रूपमा विकास भएपछि ‘या? ला:क्’/‘या? ला:क्मा’ क्रिया ‘या? ला:ङ्’ (धान नाच) का रूपमा विकास भयो ।
अध्ययनको उद्देश्य
यस अध्ययनले याक्थुङ लिम्बु जातिमा रहेको ‘या? ला:ङ्’को प्रदर्शनकारी कलाका रूपमा यसमा सन्निहित पक्षहरूका बारेमा उजागर गर्नु हो ।
अध्ययन विधि
सहभागी अवलोकन (participant observation) को आधार लिएर यस प्रदर्शनकारी कला ‘या? ला:क्’को समकालिक अध्ययन (synchronic/cross-sectional study) गरिएको छ । यस अध्ययन पूरा गर्नका लागि उपलब्ध द्वितीय स्रोतहरूको पनि उपयोग गरिएको छ ।
यस अध्ययनका अध्येताद्वय आफै पनि ‘या? ला:क्मा’का अभ्यासकर्ता भएकाले आफ्नो स्वज्ञान र अनुभवको प्रयोग मूल रूपमा गरिएको छ ।
सैद्धान्तिक पर्याधार
अध्ययन विश्लेषणको सैद्धान्तिक आधार प्रदर्शनमूलक अध्ययन पद्धतिलाई अबलम्बन गरिएको छ । यसको सैद्धान्तिक पर्याधार निर्माणका लागि तत् समुदायको सांस्कृतिक सन्दर्भको अवलोकन वाञ्छनीय हुन्छ । कृषि कर्मसँग जोडिएको या? ला:ङ् (धान नाच)को महत्त्व, गतिशीलता र कार्यको बोध गर्न एक वैचारिक आधार र सान्दर्भिक सिद्धान्तहरू चयन गर्नुपर्दछ । यसका लागि प्रस्तुत लेखमा सांस्कृतिक पहिचानका सिद्धान्तलाई निरीक्षण गरिएको छ । यसले व्यक्ति र समुदायका सांस्कृतिक अभ्यासहित त्यहाँ पहिचानको भावना कसरी निर्माण भएको छ भनी अन्वेषण गर्दछ । याक्थुङ लिम्बु समाजमा सर्वाधिक प्रख्यात कृषि कर्मसँग जोडिएको या? ला:ङ् (धान नाच) बारेमा यहाँ चर्चा गरिएको छ । नाचको परिचय, नाचको विधि र चरण, नचारुले अवलम्बन गर्ने नियम र नृत्यविधि, नृत्यमा प्रयोग हुने बाजा तथा नचारुले लगाउने भेषभूषा वा पोसाक एवम् नाचको प्रवृत्ति र वर्तनमान अवस्था बारेमा प्रस्तुत गरिएको छ ।
पूर्व साहित्य
पौडेल (२०७७) ले ‘लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच’ अध्ययन गरेका छन् । पौडेलले यस अध्ययनमा धान नाच नाच्ने याक्थुङ लिम्बु जातिको परिचय, धान नाचको उत्पत्ति र नामकरण, धाननाच र पालामका बिचको सम्बन्ध र विकास, धान नाचको विशेषता र नियम लगायतका विषयहरूको विश्लेषण गर्दै धान नाच लिम्बु जातिमा प्रचलित लोकगीतिनृत्य हो र यसले पछि आएर सांस्कृतिक र मनोरञ्जन दुवै रूप लिएको निष्कर्ष निकालेका छन् ।
सुब्बा (२०७४) ले ‘लिम्बु लोकवार्ता’ अध्ययन गर्ने क्रममा लोक नाच अन्तर्गत ‘या? ला:ङ’ (पे. १५९–१६०) को चर्चा गरेका छन् । यसरी नै तुम्बाहाङ (२०६८) ले ‘लिम्बू जातिको चिनारी’ कृतिमा लोकनृत्य अन्तर्गत ‘या ला:ङ/या ला:क्मा’ (पे. १७०–१७१) को परिचयात्मक छोटो चर्चा गरेका छन् ।
लाओती (२०६२)ले ‘आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय’ पुस्तकमा ला:ङ् (नाच) अन्तर्गत या?ला:क्, केला:ङ्, हाङ्साम्ला:ङ्, ताम्के/क्या ला:ङ् प्रस्तुत गरेका छन् । या?ला:क् (पे. ६९–७५) मा या? ला:ङ्को उत्पत्ति आख्यान, व्युत्पत्ति अर्थ, नाचका नियमहरू, यसको याक्थुङ लिम्बु समाजमा प्रचलन र प्रभाव जस्ता विषय उल्लेख छ ।
शर्मा (२०३९)ले ‘हाम्रो समाज: एक अध्ययन’ कृतिमा नेपालका किरात जाति शीर्षक अन्तर्गत लिम्बूसमुदाय उपशीर्षकका थुप्रै शीर्षकमध्ये धाननाच र प्रेमविवाह उपशीर्षकमा लिम्बु समाजमा सर्वाधिक प्रचलनमा आएको नाचलाई ‘धाननाच’ भनिन्छ (पे. २७८–२८९) भनी उल्लेख गर्दै धाननाच बारेमा विभिन्न जानकारीहरू उल्लेख गरेका छन् । उनको लेखाइमा धान नाचसम्बन्धी जानकारी कतिपय, स्वकल्पित, सतही र तोडमोड गरिएका पनि छन् ।
सुब्बा (सन् १९९९)ले लोक नृत्यहरू शीर्षकमा प्रकृतिपरक नाच जस्तै के ला:ङ (Dances after nature, e.g. Ke lang), कृर्षिसम्बन्धी नाच जस्तै दाम्के अ:क्मा, यालाक्मा (Agricultural dances, e.g. Dumky Ookma, Yialakma), यद्ध नाच (War dance, e.g. Nahangma dance of Phedangma during Nahangma ritual), फेदाङ्मा, साम्बा, येबा र येमाको रहस्यवाद र मिथकीय नाच, जस्तै याग्राङसिङ लाङ, फुङ्सोक लाङ, तङ्सिङ लाङ (Mysticism and mythological dce of Phedangma, Samba, Yeba and Yema, e.g. Yagrangsing Lang, Phungsok Lang, Tongsing Lang) (पे. २१३–२२२) भनी उल्लेख गरेका छन् ।
चेम्जोङ (सन् १९६६), किरात जनको इतिहास र संस्कृति (History and Culture of Kirat People) पुस्तकमा लिम्बुवानको किरात धान नाच (The Kirat Paddy-Dance of Limbuwan) शीर्षकमा धान नाचको परिचय, नाचका नियम, नाच्ने कदमहरू र नाच्दा भनिने पालामको नमुना (पे. ७३–७७) प्रस्तुत गरेका छन् । १३ कदमे र ५ कदमे दुई प्रकारका धान नाचको कदमहरू उल्लेख गरे पनि ती कुन नाच हुन् भनेर किटान गरेका छैनन् । अहिले ती कदमहरूलाई नाचका प्रकारहरूसँग किटान गर्न सकिएका छैनन् ।
‘या? ला:ङ्’ अर्थात् धान नाच याक्थुङ लिम्बु समुदायसँग अभिन्न रूपमा जोडिएको नाच हो । धान नाचको उद्वभ कृषिसँग सम्बन्धित रहेको साथै यो याक्थुङ लिम्बु जातिको प्रभावी संस्कृति र मनोरञ्जन समेतको माध्यम हो ।
प्रदर्शनकारी कलाका रूपमा धान नाच
दर्शकले दृष्यपान गर्न वा श्रोताले श्रवण गर्नका लागि कुनै व्यक्तिले कुनै विषयलाई प्रस्तुत गर्नु प्रदर्शन हो भने प्रदर्शनमा सीप वा कौशल जोडेपछि त्यो प्रदर्शन कला हो । निरौला (२०७४) का अनुसार प्रर्दनकारी कला भनेको गायन, वादन, नर्तन, नाट्य, चित्रकारिताका साथै अन्य प्रर्शन गर्न सकिने कला हो ।
डेभिस (२०११) का अनुसार प्रदर्शनकारी कला (the performing arts) अन्तर्गत सङ्गीत, नाच र नाटक पर्दछन् जो एकआपसको केही विशेषता एकदमै फरक हुन्छन् (music, dance, and drama – are in some ways strikingly different) ।
उपर्युक्त विद्वानका भनाइलाई आधार मान्दा धान नाचलाई निरौलाका दृष्टिकोणमा गायन र नर्तनसँग जोडेर अनि डेभिसका दृष्टिकोणमा सङ्गीत (गायन) र नाचसँग जोडेर प्रर्दनकारी कलाका रूपमा लिन सकिन्छ । धान नाच कृषि कर्मको रूपमा हुँदा ‘या? ला:क्’ भन्नाले ‘धान कुल्चिुनु’ वा ‘धान कुल्चिएर झार्नु’ थियो भने यसले संस्कृतिका रूपमा रूपान्तरित हुँदा यो ‘या? ला:ङ्’ अर्थात् ‘धान नाच’ भयो ।
तस्बिर स्रोत: google.com
प्रदर्शनकारी कला भन्नाले सबै प्रकारका स्थानमा प्रर्दन हुने परम्परागत उच्च कलादेखि प्रचलित कलाहरू लगायत नाटक, सङ्गीत, गीतिनाटक र नाच पर्दछन् (McCarthy, 2001, p. 5) । म्याककार्थीका अनुसार प्रदर्शनकारी कलामा विभिन्न आदिवासी समुदायहरूका शास्त्रीय नाच र परम्परागत कला तथा संस्कृति पर्दछन् ।
म्याककार्थीको दृष्टिबाट हेर्दा लोकगीतिनृत्य एवम् परम्परागत प्रर्दशनकारी कलाका रूपमा धान नाचलाई लिन सकिन्छ ।
‘या?’ र ‘या? ला:ङ्’को आख्यान
‘या?’ र ‘या? ला:क्’ वा ‘या? ला:ङ्मा’को उत्पत्ति सम्बन्धी मुन्धुम, आख्यान, लोक मिथकको प्रसङ्ग कहाँ, के प्रसङ्गमा आउँछ भन्ने विषय यहाँ सामान्य सर्वेक्षणित छ :
मुन्धुममा धान । ‘सावा ये़त्हाङ सा’ अर्थात् मुन्धुममा वर्णित सकल मानवकी चेली ‘सिबेरा याक्थुङ्मा, सिबेरा याभुङ्गेक्मा’ले माथिबाट धान, पारामा (कोदो), पया? (कागुनो)को बिउ ल्याइ उनका माइती सावा येत्हाङहरूलाई उनै चेलीले धानको खेती गर्न सिकाइन् । सिबेरा येभुङगेक्मालाई सिबेरा याक्थुङमा, सिबेरा येभुङग्रेक्मा (याक्थुम्बाका, २०६२, पे. २३), सिगेरा याबुङ्गेक (आङ्बुङ, २०७९, पे. ६५८), सिकेरा एक्थुक्नामा (मेन्याङ्बो, २०८०) आदि फरक फरक नामले पुकारिन्छ जसले याक्थुङ लिम्बुका पुर्खालाई पहिलो पटक धान लगायतको खेती गर्न सिकाइन् भन्ने वर्णन मुन्धुममा पाइन्छ । सिगेरा याबुङ्गेक्माले धानको खेती गर्न सिकाएको स्थान ताप्लेजुङको मुन्धुमी स्थान मुरिङला खारिङ्ला जाने बाटोमा पर्ने ने़म्भो याक्वा तेसुमादे़न् हो भन्ने विश्वास गरिन्छ ।
मुन्धुमकै अर्को चरणमा सावा ये़त्हाङका चेली चुङ्जिहाङ्मा एच्छाहाङ्माले आफ्ना माइतीसँग धानको बिउ माग्दा भाउजुले दिएको तर रोप्दा नउम्रिएकाले निङ्वाभुमा माङलाई सोधनी गर्दा भुटेर दिएको बिउ भएकाले नउम्रिएको अब आफ्नो गाउँघरमा फर्किएर गई पासो थापेर चरा पारी त्यसको गाँडबाट धानको बिउ निकाल्नु, रोप्नु भन्ने सुझाव पाएको कुरा मुन्धुमको यो हरफबाट जानकारी हुन्छ :
सात्ता के़जाबा लुङ्ले़ङ् के़जाबा ।।
थोक्सा मे़दारो कुबु मे़दारो ।।
खान्हा? – वया युक्ते़से़ लुङ्जे़न् युक्ते़से़ ।।
वया युक्ते़से़ फच्चङ् युक्ते़से़ ।।
खाप्पुसा – थोक्सा मे़धारो कुबु मे़धारो ।।
मिनु पुमे़न्लो साप्पुधु:क् पुमे़न्लो ।।
थोक्सा के़सिबे़न् कुपु के़सिबे़न् ।।
हुक्सो फा:क्खे़ फे़त्ते़ ताङे़ फा:क्खे़ फे़त्ते़ ।।
मिनु फ:न्मे़न्लो कुतक्फ:न्मे़न्लो ।।
हुक्सो थे़से़आङ् ताङे़ थे़से़आङ् ।।
के़सात्ता ने़मे़त्ना के़लुङ्ले़ङ् ने़मे़त्ना ।।
सोधा:न् हे?रे़ओ या?रिन् हे?रे़ओ ।।
(आङ्बुङ, २०७९, पे. ६६४)
यस मुन्धुमको कहावत अनुसार याक्थुङ लिम्बुको एउटा समूहले ढुक्कुरलाई ढुङ्गोको धरापमा पारेर मारी गाँड चिरेर निकालेको अन्नबाट धान उमारिएको देखाउँछ । याक्थुङ फुङ्वा चाङ्मा मुन्धुममा चराले नै याक्थुङ लिम्बुहरू मातृभूमिमा यरङ्वा (सारस?) चरा, सिजोक्वा (गौथली) चराको विष्टाबाट फूलका बिउ छरिएर उम्रिएको (काइँला, पे. १४५–१४६) उल्लेख छ । मुन्धुमका सुक्ति झैँ लिम्बुवानका कतिपय भेगका मुन्धुममा चराबाट धानको बिउ प्राप्त भएको पाइन्छ । यसको सामान्य सङ्केत भनेको याक्थुङ लिम्बुले जङ्गलबाट धानको बिउ ल्याएर खेती सुरु गरे ।
लोक मिथकमा धाननाच । अनिकालमा मानिसले फे़त्ले़रे़ फे़म्भुना पु/माक्चे़रे़ पु (भँगेरा)लाई धानको बिउ ल्याउन लगाए (कन्दङ्वा, २०२०, श्रेष्ठ, २०५१, सुब्बा, २०७४, सुब्बा, सन् १९९९, तुम्याहाङ, सन् २०२०) । भँगेराले ल्याएको धानको बिउ मानिसले रोपे र पाकेपछि भँगेराका शाखा सन्तानले धान खाएमा मार्न नपाइने बाचा बन्धन चरा र मानिसबिच भयो । धान पाकेपछि भँगेराको बिगबिगी भयो । बाचा बन्धन अनुसार मानिसले भँगेरा मार्न पाएनन् । धान बचाउन मानिसले धानको वरिपरि गोलो घेरा बनाएर हात समाएर हा... हा... हा... गर्दै भँगेरा भगाएर धान बचाएको आख्यान छ ।
भँगेराका साथै फिरिक्वा (मुनिया) चराबाट धन वचाउने मुन्धुमी प्रसङ्ग फुङ्सोक तेमा (गुरु पूजा)मा आउँछ । याक्थुङ लिम्बु समाजका फे़दाङ्मा, साम्बा, ये़बा ये़माले आफ्नो सामुधुङ येप्मुधुङ/ये़प्माधुङ्मा (आध्यात्मिक गुरु) लाई चडाएपछि मात्र नयाँ अन्नबाली खान थाल्छन् । यो फुङ्सोक् तेमा मङ्सिरे पूर्णिमाको दिन गर्ने चलन छ ।
गुरूपूजामा धानको बिउ ल्याउने, रोप्ने, गोड्ने, बिटा लगाउने, खलामा झार्ने, धान भर्ने, ओखलीमा धान कुट्ने, नाङ्लोमा चामल केलाउने, फुजिक वा हाँडीमा पकाउने, गुरुलाई चढाउने मुन्धुम भन्नुका साथै सोही अनुसारको क्रियाकलाप पनि सामनहरूका साथमा युवायुवतीले सामूहिक रूपमा गर्ने गर्दछन् । यही प्रसङ्गमा धान वचाउन चरा खेद्ने मुन्धुम यसरी गाइन्छ :
हाइ... हा... आल्ल मुफिक् मे़मुक् फि:क्वा मे़मुक् नि बि,
हाइ... हा... मुफिक् मे़मुक् फि:क्वा मे़मुक् कर,
हाइ... हा... माक्चे़रे़ पु मे़मुक् कर
हाइ... हा... मुफिक् ना:त्तुम् फि:क्वा ना:त्तुम्,
हा...हा...हा... माक्चे़रे़ पु मुक्किले़ ना:त्तुम्,
हा...हा...हा...
अर्थात् अब मुनिया चराको प्रकोप पो हुन्छ कि, मुनिया चराको प्रकोपा आयो भने, भँगेरा चराको प्रकोप भयो भने, मुनिया चरालाई खेदौ, भँगेरा चरालाई खेदौँ, हा...हा...हा...।
अर्को आख्यानमा धान पाकेर एक ठाउँमा थुपारेको धान र पराल छुटाउनका लागि सरक्पा नामका गायक र नृत्यकार याक्थुङ लिम्बु पुर्खाले युवा युवतीहरूलाई लाइनै लगाएर थुपारेको धान टेक्न लगाएर धान र पराल छुटाउन लगाए (धनहाङ सुब्बा, २०७४) । यही कर्म पछि गएर धान नाचको रूपमा विकास भयो ।
फाङ्बुना (गोलसिमल) चरोसँग जोडिएको धान नाचको अर्को मिथक पनि छ । त्यस मिथक अनुसार उहिले उहिले याक्थुङ लिम्बुहरूले धान काटेर कुन्यु थुपार्दै लगेरे । कुन्युको धान झाँट्दा कहिलै सकिएन रे । के भयो भनेर हेर्दा त त्यहाँ फाङ्बुना चरोको गुँड थियो रे । फाङ्बुना चरो सहको चरो भएकाले धान जति झाँटे पनि नसकिएको रहेछ । चरोलाई नधपाई धान झाँट्न नसकिने भएकाले कुत्युको वरिपरि धेरैजना उभिएर हा... हा... हा... गर्दै फाङ्बुना चरोलाई धपाउने काम गरे रे । यसैबाट पछि धान नाच र पालामको सुरुवात भयो रे ।
नेपालको भूर्वी भेग विशेष गरी पल्लो किरात लिम्बुवान भूमिमा सुभाङ्गी प्रथा कायम रहेसम्म सुब्बाहरूको खेतमा असार १५ का दिन सबै रैतीहरू भेला भएर विभिन्न बाजागाजा बजाउँदै, खेत हिल्याउँदै, दाँदे कुदाउँदै, बाउसे गर्दै, फेउरी लगाउँदै, असारे गीत गाउँदै रोपाहारहरूले सामूहिक रूपमा उल्लासका साथ रोपाइँ गर्थे जसलाई पेथी (बेठी) भनिन्थ्यो । त्यस्तै येल्लो समुद्र नजिक पर्ने कोरियाको चिन्डो (चीन टापु)का बासिन्दाले धान रोप्दा एक खालको नगरा बजाउँदै धान रोप्ने कला प्रदर्शन गर्दछन् । त्यसलाई कोरियन भाषामा ट्युर–केजे़त् (ture-kj) भनिन्छ र त्यस्तै प्रकृतिको धान रोप्ने कला जापानको चुगोकु क्षेत्रका जनताले पनि गर्दछन् जसलाई युइ (yui) भनिन्छ ।यसका साथै धान थन्क्याउने समयमा ती क्षेत्रमा धन्यवाद दिने पर्व चुसोकु (Chusoku) कानकानसोर गीत गाउँदै माने (Uchida, 2010, p. 111) जस्तै याक्थुङ लिम्बु समाजमा प्रचलित मुन्धुम, मिथक र कहावतहरूले याक्थुङ लिम्बु जातिको धानसँगको पुरानो सम्बन्ध भएको र त्यही कृषि कर्म धान थन्क्याउने विषयसँग जोडिएर याक्थुङ लिम्बु समाजमा धान नाचको चलन रहेको देखिन्छ ।
धानको सह र धानकी देवी
फाङ्बुना (गोलसिमल) चरोसँग जोडिएको धानको मिथकमा धानको सह वा आत्मा (rice soul) को प्रसङ्ग आउँछ । चासोक गर्नु पनि एक प्रकारले धानको बिउ ल्याइ धान रोप्न सिकाउने पुर्खादेखि थुप्रै देउदेउता र प्रकृतिलाई धन्यवाद दिन र सह राखिदिन पूजा गरिन्छ । यस प्रकारको धानका सह होस् धनेर धान झाँट्न सुरु गर्नुपूर्व याक्थुङहरूले खलाको बिचमा ढुङ्गो राखेर सिमेभुमे, चराचर जगत्, तागेरा निङ्वाफुमा माङ्, सिगेरा याभुङ्गेक्मा, मुक्कुमलुङ (पाथीभरा), फक्ताङलुङ (कुम्भकर्ण), सेसेलुङ (कञ्चनजङ्घा) लगायतको पूजा आराधना गरिन्छ, ढोगिन्छ र धान झाँट्न सुरु गरिन्छ । धान झाँटेर नाङ्लोले बताइसकेपछि धान गोल्याएर धानको थुप्रो उठाएपछि त्यसको टुप्पोमा धान काट्ने कचिया (हँसिया) मा फूल परालको त्यान्द्रोले बाँधी फक्ताङलुङतिर फर्काएर गाडिन्छ । यसपछि धान भर्ने व्यक्ति पाथी लिएर फक्ताङलुङतिर नै फर्किएर आफ्नो दायाँ सिमे (पानी) र बायाँ भुमे (जमिन)को नाममा नाङ्लो राखी सह नभागोस् भनी धान र पाथीलाई ढोग्दै एकएक पाथी धान भरेर नाङ्लोमा चढाउने र त्यो परिवारको कन्य छोरीलाई दिने चलन हुन्छ । यसो गरेमा धानको सह हुन्छ भन्ने विश्वास रहेको छ । धान थन्क्याउने र सह राखी राख्न याक्थुङले चासोक पर्व मनाए जस्तो धानको सह कायम राख्न संसारका धेरै जातिले पर्व मान्ने गर्दछन् जस्तै तामिलले पोङ्गाल पर्व, थाइले कालापाना पर्व, भियतनामीले अजोल्ला संस्कार गर्दछन् । यसरी नै लाओस, मध्य भारतका मुन्डा, जापानिज, खमेर, कोरियन लगायतले सह वचाउने पर्व गर्दछन् (Taryo, 1984) ।
याक्थुङहरुले धानको सहका प्रतीकका रुपमा फाङ्बुना वा फाङ्बुमा चरो र धानको बिउ ल्याइदिने सिबेरा याक्थुङ्मा सिबेरा याभुङ्ग्रेकमा धान ल्याइदिने माङ या देवी हुन् भनी चासोकमा पूजा आराधना गर्दछन् । यस्तै किसिमको अवधारण संसारका धेरै ठाउँमा पाइन्छ जस्तो कि थाइल्यान्डमा धानकी देवी भनेर माइ पोसोप (Mae Posop) वा माइ कुसोक (Mae Kusok) लाई मान्दछन् । यसरी नै जापानमा इनारी, मन खमेर जातिले मल ङो (Hmall Hngo), भियतनाममा माइ खाउ (Mae Khau), मलेसियामा सेमाङात पाडी (Semangat Padi), म्यानमारमा केलाह (Kelah) (अहुजा र अहुजा, २०१०, पे. ४५) लाई धानकी देवीका रुपमा मान्ने चलन पाइन्छ ।
धानसँग याक्थुङ लिम्बुको साइनो
५००० वर्ष इसापूर्व चीनमा हिलो अर्थात् खेतमा धान खेती गरिन्थ्यो भने ‘साङ्घाम्मा या?’ (धान) ‘लिङ्घाम्मा या?’ र ‘ताक्मारु या?’ याक्थुङहरूले यसअघि नै सुक्खा खोरियामा खेती गर्दथे भन्ने कुरो मुन्धुममा आउँछ । याक्थुङहरूले कहाँबाट धान ल्याए भन्ने प्रसङ्ग माथि नै उल्लेख भयो कि सिगेरा एक्थुम्माले माथि अर्थात् उत्तर दिशाबाट ल्याइन, टुकुरले ल्यायो, भँगेराले ल्यायो । याक्थुङ सामनहरू फे़दाङ्मा, साम्बा, येÞबा, येÞमाले यस्तै धानको ‘सगला दाना’ले देउदेउताको आराधना गर्दथे जो आजतक चलनमा छ । यस प्रकारको चामललाई ‘तुम्दुम् सेरी’ भनिन्छ जसको अर्थ ‘हरेक दुष्टआत्माहरू र रोगहरूलाई नास गर्न सक्ने अनादि–आदि–शक्तिशाली चट्याङ’ (earliest-earlier-powerful as lightning which could save from each and every evil and demonic powers and diseases) (लिम्बु, २०१४, पे. ३३) भनिन्छ ।
यो प्रमाणित छ कि धानको उद्विकास चीनको याङ्जे नदी आसपासमा भएको हो । त्यसको खातीपाती गर्ने मियायो–याओ जाति हुन् भन्ने विश्वास गरिन्छ । सिचुवानका मियायो जातिका पुर्खाले अन्नको बिउको अनिकाल भएको समयमा हरियो चरो उडाएर स्वर्गका देउताको भकारी भएको ठाउँमा पठाए अनि उसले स्वर्गको धानको बिउ लिएर उनीहरूलाई दियो (They set free a green bird which then flew up to the rice granary of the heaven god and returned with the heavenly rice seed and tare) (Taryo, १९८४, पे. १०) भन्ने आख्यान छ । यही मियाओ जातिको मानव वंश समूह (haplogroup) एम १३४ हो भने लिम्बु समुदायको पनि हाप्लो ग्रुप एम १३४ नै पाइएको छ । यस विषयमा मादेन (२०८०) को तर्क छ कि “धानखेतीका सुरुवाती कथा लिम्बूको मुन्धुम तथा सिचुवानको प्राचीन कथासँग मिल्नुबाट यसै स्पष्ट हुन्छ कि याङ्जे उपत्यकाबाट पूर्वी नेपालमा धान ल्याउने लिम्बू समुदायकै एक झुन्ड थिए । नेपालमा मकै, गहुँ, कोदोभन्दा पहिले धान ल्याइएको हो । अत: नेपालमा खेतीपाती गर्ने पहिलो समुदाय लिम्बू नै हुनुपर्छ ।”
यही धानको खेती गर्ने र धान खाने जाति याक्थुङले कृषियुगदेखि विकास र अङ्गीकार गर्दै ल्याएको धानसँग सम्बन्धित नाच ‘या? ला:क्/ला:ङ्‘ (धान नाच) हो ।
याक्थुङ भाषामा धान शब्दको मेहेरो
याक्थुङ लिम्बु भाषामा जुनसुकै बिउँलाई पनि ‘या?लि:न्’ (या?रिन्) भनिन्छ । यहाँ ‘या?’ शब्दले धान र ‘लि:न्’ शब्दले रोप्न वा छर्न छानिराखिएको अन्न बुझाउँदछ । उभौलीमा कर्याङकुरुङ आएपछि नयाँ सालका लागि खेतीपाती आरम्भ गर्न रोपिने काँक्रा फर्सी वा अन्य कुनै पनि बिउलाई ‘या?वा’ (या? वे?मा > या?वा > याक्वा/यक्वा) भनिन्छ । यसै भएर याक्थुङ लिम्बु जातिले मनाउने उभौली चाडलाई ‘याक्वा तङ्नाम’ भन्दछन् । यो कुरो पनि छ कि जुनसुकै अन्न सुकाइएको बिस्कुनलाई ‘या?नाम्’ या ‘या?रो’ भनिन्छ । यहाँ ‘या?’ धान र ‘नाम्’ले अन्न फिजाएको भन्ने अर्थ दिन्छ । जुनसुकै प्रकारको मेलोमा जाने खेताला भए पनि ‘या?लिक्’ भनिन्छ । ‘या?लिक्’ शब्दको आध्य रूप ‘या?ले़क्मा/ या?लेÞक्पा’ काम गरेर धान साट्ने या धान ज्यालामा काम गर्ने अथवा ‘या? ले:प्पा/ले:प्मा’, ‘या? के़ले:प्पा/के़ले:प्मा’ (धान रोप्ने काम गर्ने) हो कि भन्न पनि सकिन्छ । यसरी नै चामललाई ‘या?स्या’ भनिन्छ ।
‘सावा ये़त्हाङ सा’ अर्थात सकल मानवका चेली ‘सिबेरा याक्थुङ्मा, सिबेरा याभुङ्गेक्मा’ नाममा आएका शब्द ‘याक्थुङ्मा’ ‘या? फुङ्मा’ अथवा ‘धान ल्याउने’ शब्दबाट बनेको र अपभ्रंश हुँदै ‘याक्थुङ्मा’ भएको अनुमान गर्न सकिन्छ । यसरी नै ‘याभुङ्गेक्मा/याभुङ्ग्रेक्मा’ पनि ‘या? के़भुङ्मा के़ले:प्मा’ शब्द अपभ्रंश भएर बनेको अनुमान गर्न सकिन्छ । यर्थात धानको बिउ ल्याउने याक्थुङ पुर्खा ‘याक्थुङ्मा’, ‘याभुङ्गेक्मा/याभुङ्ग्रेक्मा’ ‘या?’ शब्दसँगै जोडिएर उत्भव भएका शब्दहरू हुन्, जो मुन्धुममा प्रयोगमा छन् ।
देउताको पूजा गर्दा पे़हे़ङ् (सानो बाँसको टुप्पोतिर छड्के काटेर तङ्बाको रूपमा प्रयोग गर्ने)मा काँचो कोदो बोटबाट टिपेर ल्याएर (जसलाई साजी मानिन्छ) मर्चासँग मिसाएर जाँडको प्रतीकका रूपमा लगाइनेलाई सो:न्या? (सो:न्मानाबा या? = ओख्ली या ढिकीमा फलेको धान) भनिन्छ । जुन सुकै अन्न पिँधे पनि ‘या? यु:प्मा’ (धान पिन्नु) भनिन्छ । यसरी नै ढिकी वा ओखलीमा जुनसुकै अन्न कुटे पनि ‘या? हाक्मा’ (धान कुट्नु) भनिन्छ । झारलाई यान् (या?इन् = धानजस्तै) भनिन्छ । कोदो, मकै, जौ, गहुँ, धान वा जुनसुकै अन्नबाली रोप्ने, गोड्ने, थन्क्याउने मेलोलाई ‘या:न्धा’ भनिन्छ । कोदालो खन्नुलाई ‘या? ममा’ या ‘या? अ:क्मा’ भनिन्छ । कुनै पनि अन्नको बोक्रा वा भुसलाई ‘या?सुङ्’, ‘या?सिप्’, ‘या?हि:क्’ भनिन्छ । कामलाई पनि ‘या:म्बक्’ भनिन्छ । बारीलाई ‘या?बो’ भनिन्छ । धानको दाइँ गर्नलाई ‘या? ला:क्/ला:क्मा’ भनिन्छ । मानिस मरेर लास बोकेर चिहानतिर जाँदा बाटोमा मलामीले छर्ने भुटेको अन्नहरू वा शतबिउ पलबिउलाई ‘या?बोन्’ (चाबोन्) भनिन्छ ।
‘या?’ (धान) र ‘थुङ्’ (खाने जाति) दुई शब्द संयोजन भएर लिम्बु जातिले आफ्नो भाषामा आफूलाई चिनाउने शब्द शास्त्रीय शब्द ‘याक्थुङ’ विकास भएको हो कि भन्न सकिन्छ । याक्थुङ समाजको विकास क्रम ‘सावा ये़त्हाङ सा’ (सकल मानवका आठ सन्तान), ‘येÞत्हाङ’ (आठ राजा), ‘थिबोङ् याक्थुङ’ (दश लिम्बु)मा आउने पछिल्लो ‘याक्थुङ’को शब्दको उद्भव ‘यक्’ वा गढ/गढी र ‘थुम्बा’ (शक्तीशाली, सुरवीर) मिलेर बनेको शब्द अपभ्रंश भएर विकास भएको मानिन्छ । पूर्व पङ्तीमा उल्लिखित ‘या?’ + ‘थुङ्’ = ‘या?थुङ्’ शब्दमा आएको कण्ठ्य (?) ध्वनि ‘क्’मा परिणत भइ ‘या?थुङ्’ नाम शब्द ‘याक्थुङ्’ भएको मान्न सकिन्छ किन कि कण्ठ्य (?) ध्वनि परिवर्तन हुँदा ‘क्’ हुने प्रमाणित भाषा वैज्ञानिक नियम हो ।
यसरी लिम्बु भाषामा ‘या?’ वा धान शब्दको धेरै प्रयोग र प्रभाव रहेको पाइन्छ ।
धान नाचका प्रकार
मिथक अनुसार मानिसका समूह मिलेर भँगेरबाट धान संरक्षण गर्न वा धानको बालासहितको नल खुट्टाले टेकेर झार्ने कार्य समाज विकास हुँदै जाँदा रूपान्तरण हुँदै गयो र धान नाच विशिष्ट रूपमा विकास भयो । अब साइनो नलाग्ने युवा युवतीहरू बिच मात्र धान नाच नाच्ने परम्पराको विकास भयो, जो अद्यावधि प्रचलनमा रहेको छ ।
धान नाचका प्रकारका बारेमा विभिन्न लेखकहरूले विभिन्न प्रकारमा विभाजन गरेको पाइन्छ । कसैले लिम्बुवानको प्रशासनिक भूगोलका आधारमा धान नाचको विभाजन गरेको पाइन्छ जस्तै पान्थरे, फे़दाप्पे, छत्थरे, चौबिसे, आथाब्रे, तमरखोले धान नाच (चेम्जोङ, सन् १९९९, कन्दङ्वा, २०२०, निरौला, २०७४, शर्मा, २०३९) । कोही लेखकहरूले धान नाच नाच्नेहरूले धान नाच नाच्दा बनाउने आकारलाई आधार मानेर धाननाचको विभाजन गरेको देखिन्छ जस्तै तेर्सो गरी नाच्ने धान नाच, ‘के:म्बा या? ला:ङ्’, गोलाकारमा नाच्ने धाननाच, ये़प्ये़प्पा धान नाच (तुम्बाहाङ, २०६८, सुब्बा, सन् १९९९, पौडेल, २०७७) । कतिपयले नाचको विशेषताको आधारमा धान नाचको प्रकार छुट्याएका छन् जस्तै सरक्पा (सामान्य), थुरूपप्या (उफ्रने), ताम्ब्राङ्ग्या, सिरथाप्पे र केङजोरी (लाओती, २०६२) ।
यहाँ धान नाचका तरिका र विशेषताका आधारमा धान नाचको प्रकारहरू क्रमश: कुसरक्पा, ताम्म्राङ्ग्या, थुरूप्प्या, कि?लिक्क्या, सिर्धाप्प्या र के़ङ्जोली धान नाच कसरी नाचिन्छ भन्ने बारेमा निम्न अनुसार प्रस्तुत गरिएको छ :
कुसरक्पा । तरुनी तन्नेरीहरूले एक आपसमा हत्केला समाएर लाइनमा उभिएर खुट्टा दायाँ बायाँ र अघिपछि केही चाल्दै शरीर हल्लाउँदै नाचिने साधारण प्रकारको धान नाचलाई कुसरक्पा भनिन्छ । कुसरक्पा धान नाच सीपयुक्त कदम चाल्दै धान टेकेर धान झार्न सिकउने याक्थुङ पुर्खा ‘सरक्पा’को नामबाट विकास भएको बुझिन्छ । यो नाच ताम्म्राङ्ग्या र थुरूप्प्या धान नाच नाच्दा केही गलेको महसुस भएपछि विश्रामका रूपमा उभिएर नै नाच्ने साधारण नाच पनि हो । कुसरक्पा धान नाच नाच्दा करिब १० पटकको खुट्टाको चाल पुगेपछि एकापट्टीबाट अर्कोपट्टी फर्किने गरिन्छ र फेरि चालको सोही मात्रा पुगेपछि अघिकै दिशातिर फर्किने गरिन्छ र यो क्रम निरन्तर ओहोर दोहोर भइरहन्छ ।
ताम्म्राङ्ग्या । धान नाचमा अपनाइने नाचहरूमध्येमा आकर्षक नाचलाई ‘ताम्म्राङ्ग्या’ नाच भनिन्छ । यो नाचमा नाचिने कदममा खुट्टालाई अति नै मिलाएर परेड खेलेझैँ अगाडि पछाडि सरी नाचिने हुँदा यसलाई आकर्षक मानिएको हो । यस नाचमा सुरुमा तरुनी तन्नेरीहरू एकआपसमा ३० डिग्रीमा हात झुन्डाएर समाइ खुट्टा समानान्तर रेखामा पर्ने गरी उभिनु पर्दछ । त्यसपछि दाइने खुट्टा अगाडि बढाइ टेकिन्छ, दोस्रोमा देब्रे खुट्टा दाहिने खुट्टाको समानान्तर हुने गरी बढाइन्छ । तेस्रोमा दाहिने खुट्टा पछाडि सारिन्छ र टेखिन्छ, चौँथोमा देब्रे खुट्टा दाहिनेको समानान्तर हुने गरी पछाडि लगिन्छ र टेकिन्छ । पाचौँमा दाहिने खुट्टा फेरि अगाडि बढाइ टेकिन्छ र देब्रे खुट्टा दाहिने खुट्टाको पछाडि पर्ने गरी सारेर टेकिन्छ र शरीरको भार देब्रे खुट्टामा पर्छ र दाहिने खुटटले हल्का मात्र टेकिन्छ, जिउभने अलि पछाडि ढाडतिर ढल्किएर नजर ठाडो पारी उभिएको अवस्थामा हुन्छ । यसपछि दाहिने खुट्टा देब्रेको समानान्तरमा लगेर उभिइन्छ ।
यसरी एक चरण समाप्ति पछि देब्र खुट्टालाई अगाडि बढाइन्छ र टेकिन्छ, त्यसको समानान्तर हुने गरी दाहिने खुट्टा अगाडि बढाइन्छ र टेकिन्छ । तेस्रोमा देब्रे खुट्टा पछाडि सारिन्छ र टेखिन्छ, चौँथोमा दाहिने खुट्टा देब्रेको समानान्तर हुने गरी पछाडि लगिन्छ र टेकिन्छ । पाचौँमा देब्रे खुट्टा फेरि अगाडि बढाइ टेकिन्छ र दाहिने खुट्टा त्यसको पछाडि पर्ने गरी सारेर टेकिन्छ र शरीरको भार दाहिने खुट्टामा पर्छ । यस अवस्थामा देब्रे खुटटले हल्का मात्र टेकिन्छ, जिउभने अलि अलि पछाडि ढाडतिर ढल्किएर नजर ठाडो पारी उभिएको अवस्थामा हुन्छ । यस प्रकारको नचाइ ४, ५ पटक नाचेपछि अवस्था अनुसार दाहिने वा देब्रेतिरबाट फर्किने र माथिकै कदममा नाचिने चलन छ ।
यही कदमलाई इङ्गित गर्दै जिल्ला प्रहरी इन्स्पेक्टर कार्यालय तेह्रथुमका इन्स्पेक्टर आनन्द राजा अमात्यले २०३० सालमा प्रहरी प्रधान कार्यालयबाट प्रकाशित ‘प्रहरी’ नामक पत्रिकामा धान नाचलाई यसरी उल्लेख गरेका छन्: लिम्बू जातिको धान नाच र च्याब्रुङ नाच बडा रोचक हुन्छ र खुट्टा मिलाएको हिसाबले तालिम प्राप्त जस्तो देखिन्छ ।
चेम्जोङ (१९६६) ले धान नाचको नाम नदिइ १३ कदमे नाच भनी उल्लेख गरेका छन् जुन ताम्म्राङ्ग्या हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यसखालको धान नाच नाच्दा नाच्दै थकाइ लागेको महसुस भएमा हात तल झारी समाएर सरल अवस्थामा उभिएर कुसरक्पा धान नाच नाच्ने गरिन्छ ।
थुरूप्प्या । थुरूप्प्या धान नाच थुरूप् थुरूप् अर्थात् बुरुक्क बुरुक्क उफ्रिएर नाचिने धान नाच भएकाले यसको नाम थुरूप्प्या रहन गएको कथन छ । धान नाचको उत्पत्ति धान माड्नबाट नै सुरु भएको विश्वास गरिएको हुँदा यो थुरूप्प्या धान नाच सुरुको नाच हो भनी अनुमान गर्न सकिन्छ ।
यस नाचमा धान नाच नाच्ने तरुनी तन्नेरीहरूले एक आपसमा हातको पञ्जा समाएर खुट्टा एउटै रेखामा पर्ने गरि उभिनु पर्दछ । त्यसपछि दाहिने खुट्टा अगाडि बढाएर टेकी देब्रे खुटटा हल्लाउँदै दाहिने खुट्टाको आँख्लीमा ठोकाएझैँ गर्ने र नटेकी फेरि पछाडि फर्काएर अघि कै ठाउँमा टेकी दाहिने खुट्टा हल्लाउँदै ल्याएर देब्रे खुट्टाको आँख्लीमा ठोकाए जस्तै गरी फेरि अगाडि बढाउँदै यो क्रम ५ पटक पुगेपछि बिचमा खुट्टा एकै ठाउँमा पारेर ३ पटक उफ्रिने गरिन्छ । तेस्रो चरणमा सिधा उभिएको अवस्थामा दाहिनेतिर ५ पटक र देब्रेतिर ५ पटक पालो पालो गरे शरीर हल्लाउँदै टेक्ने गरिन्छ । यसपछि धान नाच नाच्नेहरू अर्को दिशातर्फ फर्किएर पूर्व उल्लिखित कदमहरूका आधारमा नाच्दछन् र यो क्रम निरन्तर अगाडि बढ्छ ।
कि?लिक्क्या । कि?लिक्क्या धान नाच केन्द्रबाट बाहिरतिर चक्र रेखाको क्रममा दाहिनेदेखि देब्रेतिर फन्को मार्दै नाचिने भद्र धान नाच हो । यो नाच रोटी जस्तै गोलो आकारमा नाचिने नभई चक्र अकारमा नाचिने नाच हो । यो धान नाचमा कदम जान्ने एकजना टोली नेताका रूपमा अगाडि लागेर कदमको नेतृत्व गरिरहेको हुन्छ र उसले देखाएको कदम अनुसार अन्य सबैले नाच्ने प्रचलन छ । ती टोली नेतालाई ‘लाम्बा के़उ:ङ्बा’ (भावार्थ: कदमको नेतृत्व गर्ने) भनिन्छ । यो नाचमा सुरुमा तरुनी तन्नेरीले कुसरक्पामा जस्तै हात समाएर खुट्टा एउटै सरल रेखामा पर्ने गरी उभिएका हुन्छन् । त्यसपछि दाहिने घुट्टा अगाडि बढाउँछन् र टेक्छन् अनि देब्रे खुटा दाहिनेको समानान्तर हुने गरी ल्याएर टेक्छन्, दाहिने खुट्टा पछाडि सार्छन् र देब्रे खुट्टा पनि त्यसकै लेबलमा पछाडि ल्याएर टेक्छन्, फेरि दाहिने खुट्टा अगाडि बढाएर टेक्छन् र फेरि देब्रे खुट्टा अगाडि बढाएर दाहिने खुट्टाको समानान्तरमा टेक्छन् । यही क्रममा १० पटक पुर्याएपछि आर्कोतिर फर्कन्छन् । यस धान नाचमा तीन जनादेखि आवश्यकता अनुसार पचासौँ जना पनि नाच्न सक्छन् र पालाम आआफ्नो समूह अनुसार फरकफरक भन्ने चलन छ । यस प्रकारको धान नाचमा सहभागीहरू बिचमा साइनो लाग्ने व्यक्तिहरू भएमा केटाकेटा वा केटीकेटीले समूह जोड्ने गर्दछन् ।
सिर्धाप्प्या । ‘सिर्धाप्’ धानको पाँजा मुठो पारी खलामा पछार्दाको अनुकरणात्मक याक्थुङ शब्द हो । यही अनुकरणात्मक शब्द सिर्धाप्बाट नै सिर्धाप्प्या धान नाचको नाम रहन गएको हो । सिर्धाप्प्या धान नाच नाच्ने तरुनी तन्नेरीहरू एउटै सरल रेखामा पर्ने गरी लाइनमा उभिन्छन् । त्यसपछि दाहिने खुट्टा अगाडि बढाएर टेकी निहुरिएर धानको मुठा दुई हातले टिपी पछाडि हट्ने र देब्रे खुट्टा टेकी जिउलाई अड्याउने अनि मुठो उचालेर अगाडिको खुट्टाको घुँडो खुम्च्याउँदै पछाडिको खुट्टाको पञ्जाले टेकेर अगाडि बढी धानको मुठो एकपछि अर्को गर्दै ५ पटक पछारेको र पराल भुइमा राखेको अभिनय गर्दछन् । यसपछि अर्कोतिर फर्किएर उही पूर्व अवस्थाकै जसरी ५ पटक पछारेपछि फेरि पराल भुइमा राखेको अभिनय गर्छन् र तरुनी तन्नेरीले हात समाएर पालाम भन्दै नाच्छन् । यो सिर्धाप्प्या धान नाच नाच्ने पुस्ता विरलै जिवित छन् । वर्तमान अवस्थामा यो धान नाच लोप नै भएको अवस्था छ
के़ङ्जोली । याक्थुङ भाषामा ‘के़ङ्’ भनेको ‘टुइँके’ हो । धान नाच नाच्दा के़ङ् जुधाए झैँ गरेर नाचिने धान नाचलाई ‘के़ङ्जोली या? ला:ङ्’ भनिएको हो । के़ङ्जोली धान नाचलाई के़ङ्जोरी धान नाच पनि भनिन्छ । के़ङ्जोली धान नाच नाच्दा कति तरुनी तन्नेरीहरू उछिट्टिएर लडेको कहानी सुनाउने एकाध बूढापाकाहरू लिम्बुवानमा भेटिन्छन् । सुरुमा आवश्यकता अनुसार विकास भएका अन्य नाच जस्तो नभइ बिच अवधिमा ठट्यौलीका रूपमा विकास भएको यो के़ङ्जोली धान नाच बिच अवधिमा नै लोप भएको देखिन्छ ।
धान कहाँ नाचिन्छ ?
विवाह, खाउमा, ‘या?ला:क्खाला’, चाडपर्व, हाटबजार आदिमा धान नाच नाच्ने गरिन्छ ।
विवाहमा धान नाच । याक्थुङ विवाहको अवसरमा धान नाचिन्छ । याक्थुङ विवाह गर्दा केटी लिन जाँदा केटो वा हुनेवाला दुलहाको साथमा गएको लकन्दी केटोसँग केटीका गाउँका तरुनीहरूसँग धान नाच्छन् । केटी लिएर विवाह घरमा आउँदा चेली पुर्याउन बन्दुक पड्काउँदै आउने बन्दुके माइतीसँग केटोका गाउँका तरुनीहरूले र लकन्दी आउने तरुनीहरूसँग केटोको गाउँका तन्नेरीहरूले धान नाच नाच्ने गर्दछन् । यसरी नै बेहुली भतेर सकिएपछि बेहुलीको माइती घरमा हक्तबा विधि पुर्याउन जाँदा बेहुलाको साथमा कोसेली बोकेर जाने तन्नेरीहरूसँग बेहुलीका माइती गाउँका तरुनीहरू वा लकन्दीहरूले र बेहुली लिएर आउनका लागि बेहुलाका तर्फबाट गएकी तरुनीसँग बेहुलीका माइतीहरूले बेहुलीका माइती घरमा धान नाच्दछन् ।
खाउमा/फजेमा धान नाच । याक्थुङ लिम्बु समुदायमा पुरुषको मृत्यु भएमा चारदिनमा र महिलाको तीन दिनमा खाउमा/फजे (अन्तिम किरिया संस्कार) सक्ने परम्परागत चलन रहेको छ । खाउमा/फजे व्यक्तिको मृत्यु भएको लगतै वा राखी खाउमा/फजे गर्ने चलन छ । लगतै फजे भएमा उही बेला फजे सकिनुको अघिल्लो दिन फुङ्सिङ्मा वा सामेला कार्य हुन्छ । राखी फजेमा मानिसको मृत्यु भएको विजोडी दिन, विजोडी महिना पारेर फजे गरिन्छ । यसमा पनि फजे सकिने अघिल्लो दिन सामेला हुन्छ । सामेलाका दिन याक्थुङ लिम्बु परम्परा अनुसार मृतक परिवारका मामा मावली, बिहे गरी गएका चेलीबेटी, भानाभाञ्जा, कुलकुटुम्बलाई अन्तिम संस्कारमा निम्तो दिई उनीहरूको रोहबरमा खाउमा गर्ने वा किरिया संस्कारबाट फार्से हुने चलन छ । खाउमाको अन्तिम दिनको अघिल्लो दिन नातेदार पाहुनाका साथमा साइनोपात नलाग्ने तरुनी तन्नेरी पाहुना आए पनि दु:खको काम सकिसकेको नहुनाले त्यो दिन सामान्य त धान नाच नाच्ने चलन हुँदैन । याक्थुङ लिम्बुले किरिया बार्दा एकाथरी सबै परिवारले नुन बार्नु पर्ने हुन्छ । त्यसैले अन्तिम दिनको बिहान सबै सखारै आमन्त्रित पाहुना, तुत्तु तुम्म्याङ (भद्रभलाद्मी) र याक्ला सुहाङ्मा (सज्जन महिलावृन्द) को उपस्थितिमा खाउमा गरी दाजुभाइलाई नुन बार्ने फुकुवा गरिन्छ र त्यो बिहान दाजुभाइले नुन चलाउँछन् । सहोदर घर परिवारका लागि दिउँसो दिन ढल्किने समयमा अन्तिम खाउमा गरिन्छ जुन किरिया संस्कारको अन्तिम विधि हो । यसपछि भने दु:खमा परेका परिवार दु:ख जुठोबाट पूर्ण रूपमा मुक्त भएको मानिन्छ । यस बेलुका भने साइनो नलाग्ने तरुनी तन्नेरीहरू मस्तसँग धान नाच्छन् ।
पाहुनापात लाग्दा धान नाच । याक्थुङ लिम्बु परिवारका विवाह गरी गएका छोरीचेली माइती घर आउँदा साथमा पाहुना लिएर आएमा, अथवा विवाह गरी आएका बुहारीका माइतीतिरबाट पाहुना आएमा वा अन्य कुनै किसिमका पाहुना आएका भएमा गाउँमा साइनो नलाग्ने तरुनी तन्नेरीहरू बिच धान नाच नाच्ने चलन छ ।
भाका राखेर ‘या?लाक्खालामा’ भेट भएर धान नाचिन्छ । मेला बजारमा धान नाच नाच्नुको अतिरिक्त विभिन्न गाउँ ठाउँमा धान नाच नाच्ने स्थानहरू तोकिएका हुन्छन् । त्यसरी धान नाचिने ठाउँ विशेषलाई ‘या?ला:क्खाला’ (या? ला:क्मा खाम्ला = धान नाचिने विशेष समथर स्थान) हो । कुनै एउटा गाउँ र अर्को गाउँका तरुनी तन्नेरीहरू एक आपसमा चिठ्ठी लेखेर वा कुनै समयमा भेट भएको अवस्थामा यो दिन, यो बार, यो ‘या?ला:क्खाला’मा भेट भएर धान नाचौँ भन्ने सल्लाह हुन्छ । सोही सल्लाह अनुसार आआफ्ना चेली माइती भएर ती खालामा तोकिएको समयमा भेला भइ आफ्ना साथमा गएका चेलीहरूलाई आमन्त्रित चेलीहरूका साथमा आएका माइतीहरूसँग र आमन्त्रित तरुनीसँग आफूले धान नाच नाच्ने चलन छ । पान्थर लुम्फाबाबुङमा पिम्बुङ र लिसिङ्बुङ, अम्लाबुङमा डिहिटार र नवमी, लोवाफुमा बरबुङ, चुङ्जिक्या, आहाल्या, फाबुङ, याङ्ना:प्मामा ले़:ङ्खाला, फे़दे़नमा जोरधारापाटी आदि स्थान या?ला:क्खालाका केही उदाहरण हुन् जहाँ तरुनी तन्नेरीहरू भेटघाट भएर धान नाच्छन् ।
चाडपर्वमा धान नाच । चासो:क् तङ्नाम् (नुवागी पर्व), क:क्फेÞक्वा तङ्नाम् (माघे सङ्क्रान्ति), सिसे:क्पा तङ्नाम् (साउने सङ्क्रान्ति) जस्ता चाडपर्वमा साइनो नलाग्ने तरुनी तन्नेरीको जमघट भएमा धान नाच नाच्ने चलन छ ।
हाटबजारमा धान नाच । लिम्बुवानमा पहिला पहिला तिथिको आधारमा हाटबजार लगाउने आम प्रचलन थियो जस्तै औँसी बजार, पूर्णे बजार, दुतिया बजार, नवमी बजार, एकादशी बजार, चतुरदशी बजार, पञ्चमी बजार । यसरी नै बारको आधारमा पनि लिम्बुवानमा प्रसस्तै बजारहरू लाग्थे जस्तै आइतबारे हाट, सोमबारे हाट, मङ्गलबारे हाट, बुधबारे हाट, बिहीबारे हाट, शुक्रबारे हाट, शनिबारे हाट । यस्तै हाट बजार लाग्ने आधारमा लिम्बुवानमा धेरै ठाउँहरूको नाम पनि रहेको पाइन्छ । यस्तै हाट बजारमा भाका राखी राखी तरुनी तन्नेरीहरू भेला भएर धान नाच नाच्ने चलन थियो र छ ।
धान नाचका नियमहरू
‘या? ला:क्मा’ या ‘या? ला:ङ्’ भव्य र सभ्य हुने भएकाले यसमा उछृङ्खलता, उताउलोपन, अभद्र व्यवहार र अश्लीलता (सुब्बा, २०७४)को कुनै स्थान हुन्न । ‘या? ला:ङ्’ गर्नका लागि यसमा सहभागीहरूले निर्दिष्ट नियमहरू पालन गरिनु अनिवार्य हुन्छ जो संस्कारकै रूपमा विकास भएका हुन्छन् । केही मुख्य नियमहरू यस प्रकार रहेका छन् :
- धान नाच नाच्नुअघि ख्यालीबाट साइनो केलाउने । साइनो लागेमा धान नाच नाच्नु हुँदैन । नलागेमा मात्र धान नाचिन्छ ।
- चेलीको रोहबरमा माइती वा माइतीको रोहबरम चेलीले धान नाच नाच्ने चलन, वा तरुनी र तन्नेरी धान नाच नाच्दा एकलै नभएर अरूको उपस्थितिमा नाचिन्छ ।
- पालाम भन्दा जसको गाउँठाउँमा होइन्छ उसले आरम्भ गर्ने । अन्य अवस्थामा पुरुषले पहिला पालाम भन्ने ।
- पालाम आरम्भ, उठान, उत्कर्ष सोधनी, बैठान हरेक पटक एउटै प्रारूपमा हुन्छ ।
- धान नाच नाच्दा अचानक खुट्टाले छोएमा लाइनबाट बाहिर निस्किएर भुइ सोरी नमस्कार गरी माफ माग्नु पर्छ ।
- छुट्ने समयमा विदाइ पालाम सकिएपछि विदाइ हुँदा भुइ सोरी नमस्कार गरेर छुट्ने ।
- घरमा पाहुना आएको बेला घरका युवा युवती छोरा छोरीले आफ्नो घरमा तन्नेरी पाहुना भए गाउँको तरुनीहरू, तरुनी पाहुना भए तन्नेरी दौतरीहरू बोलाएर धान नाच नाच्न लगाउने । छोरा छोरीले पाहुनाका लागि तरुनी तन्नेरी नबोलाएमा घरका बुबा वा पाको मान्छेले नै पाहुनसँग धान नाच नाच्न मिल्ने गाउँका तरुनी तन्नेरी बोलाउन लगाउने चलन छ ।
- घरमा आएको पाहुना पुरुष भएमा घरका चेलीहरूले आँगनमा धान नाच नाच्ने गाउँका तरुनीहरू उभ्याउँछन् र माइतीहरूले पाहुनालाई हाम्रा चेलीहरूसँग धान नाच नाच्नुहोस् भनेर विनम्र अनुरोधका साथ डोर्याएर लगी धान नाच नाच्न लगाइन्छ । यसरी नै घरमा आएको पाहुना महिला भएमा घरका माइतीले आँगनमा धान नाच नाच्ने गाउँका तन्नेरीहरू उभ्याउँछन् र चेलीले पाहुनालाई हाम्रा माइतीहरूसँग धान नाच नाच्नुहोस् भनेर विनम्र अनुरोधका साथ डोर्याएर लगी धान नाच नाच्न लगाइन्छ ।
- घरमा पाहुना आएका बेला पाहुनसँग धान नाच नाच्न गाउँबाट बोलाइएका नवजवान तरुनी तन्नेरीले आफूभन्दा उमेरमा आदरणीय व्यक्तित्वहरूको अगाडि धान नाच नाच्न लाज लाग्छ भनेर भन्दा बुढौली पाका व्यक्तित्वले हामी पनि यसरी नै धान नाच नाचेको हो, धान नाच नाच्नु भनेको पाहुनालाई सत्कार गर्ने, ज्ञानगुन सिक्ने, सम्बन्ध गाँस्ने हाम्रो प्रचलित परम्परा हो, लजाउनु हुँदैन, हामी पनि सँगै छौँ भनेर सम्झाउँछन् ।
- ‘या?लाक्खाला’ र बजारमा पुरुषहरू नै पहिला उभिन्छन् र चेलीहरूले माइती धान नाच नाच्ने तरुनी लगेर समूहमा उभ्याउन्छन् ।
- कुनै ठाउँमा चेली माइती नभएको अवस्थामा तर चिनजान भएका तरुनी तन्नेरी भेट भएमा तन्नेरीले तरुनीको हात माग्ने, हात नदिएमा हत्केलाको टुप्पोमा समाएर वा समाउन पनि नमानेमा मजेत्रोको छेउ चोसो समाएर धान नाच नाच्न अनुुरोध गर्ने गरिन्छ । यो क्रम तरुनीले तन्नेरीहरूलाई पनि गर्न सक्छन् ।
- पालामको सवालको जवाफ दिँदा तरुनीले आफूलाई सानो वा अवला देखाउन आफूलाई ‘मेहेरी’ वा ‘तुक्खे सा’ वा ‘दु:खी’ भनी भन्ने र तन्नेरीलाई तपाइँ त महान् व्यक्ति भन्न ‘थाङसिङ’ हुनुहुन्छ तपाइँ आफैले सवालको जवाफ दिनुहोस् भनी भन्ने चलन हुन्छ भने तन्नेरीले तरुनीलाई ‘हिल्लोकि सिङ्घाङ्मारे़, सिक्कुम्दिङ निङ्वा कुन्दाङ्मारे़’ अर्थात् फन्को मारी घुम्ने रोटेपिङ्जस्तै सवै ज्ञानकी खानी तपाइँले नै जवाफ दिनुहुन्छ नि भनी सवाल जवाफ हुने गर्दछ ।
धान नाच र गायन
धान नाच नाच्दा लगाउने भेषभूषा
धान नाचको उपादेयता
वर्तमान अवस्था
धान नाच बारेमा गरिनु पर्ने कार्य
निष्कर्ष
सन्दर्भ सामग्री
अमात्य, आनन्दराज, (२०३०, वैशाख), तेह्रथुम जिल्ला: एक परिचय, प्रहरी, वर्ष १४, अङ्क १, पे. १३–१४, प्रहरी प्रधान कार्यालय ।
कन्दङ्वा, काजीमान, (२०२०), नेपाली जनसाहित्य, रायल नेपाल एकेडेमी ।
काइँला, वैरागी, (२०५२), तङ्सिङ् तक्मा मुन्धुम: आख्यान र अनुष्ठान, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
तुम्बाहाङ, गोविन्दबहादुर, (२०६८), लिम्बू जातिको चिनारी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान/किरात याक्थुङ चुम्लुङ ।
तुम्याहाङ, अमर (२०७०), लिम्बु साहित्य निर्माणको इतिहास, याक्थुङ साप्सक अकादमी/आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्तिठान ।
तुम्याहाङ, अमर (२०७२, माघ), ख्यालीको मुखापृष्ठमा पालाम र हाक्पारे प्रयोगको अवस्था र उपादेयता, लाइक जर्नल, वर्ष ८, अङ्क ५, पे. ५९–७०, सिरिजङ्गा अनुसन्धान केन्द्र ।
तुम्याहाङ, अमर र खजुम, भीमा, (२०७२, साउन–पुस) लिम्बू लोकबाजा तथा लोक भाकाहरू, लोक संस्कृति, वर्ष ८, अङ्क ५, पे. ८४–९६, नेपाल म्युजिक सेन्टर ।
निरौला, कुलराज, (२०७४), नेपालका प्रदर्शनकारी कला: प्रादेशिक अनुसन्धान प्रदेश नं. १, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ।
पौडेल, हेमनाथ, (२०७७), लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ।
लाओती, येहाङ, (२०६२), आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय, दिलबहादुर लाओती ।
मादेन, कमल, (२०८०, मङ्सिर २७), मुन्धुम निर्देशित चासोक तङ्नाम: याक्थुङ सभ्यता सम्झाउने चाड, झन नयाँ, https://jhannaya.nayapatrikadaily.com/news-details/2225/2023-09-30
मेन्याङ्बो, प्रदीप, (२०८०, पुस १०), मुन्धुम निर्देशित चासोक तङ्नाम: याक्थुङ सभ्यता सम्झाउने चाड, अनलाइन खबर, https://www.onlinekhabar.com/2023/12/1410690?fbclid
याक्थुम्बा, मञ्जुल, (२०६२), मौलिक किरात धर्म–संस्कार, धनजीत येभेङ लिम्बू र राजकुमार फोम्बो लिम्बू ।
शर्मा, जनकलाल (२०५८), हाम्रो समाज: एक अध्ययन, साझा प्रकाशन ।
श्रेष्ठ, शिवकुमार, (२०५१), किराती लोककथा सँगालो, श्रीमती गङ्गादेवी श्रेष्ठ ।
सुब्बा, धनहाङ, (२०७४), लिम्बु लोकवार्ता, श्रीमती हाङ्मा लाबुङ/श्रीमती अनु गुरुङ सुब्बा ।
रोमन
Ahuja, S. C. & Ahuja, U. (2010). Rice
in social and cultural life of people. In S. D. Sharma (ed.), Rice: Origin, antiquity and history.
Science publishers, pp. 39-84.
Chemjong, I. S. (1966). History and culture of Kirat people.
Kirat Yakthung Chumlung.
Davies, D. (2011). Philosophy of the Performing Arts.
Wiley-Blackwell.
Limbu, Ambar Jang, (2014, February). Limbu
folk culture related food habits with especial reference to Limbu folklore. Third eye, journal of education, Vol. 2,
No. 2, p. 29-42
McCarthy et all (2001). The perferming arts in new era.
RAND.
Subba, J. R. (1999). The Limboos of the estern himalayan with special reference to Sikkim.
Sikkim Yakthung Mundhum Saplopa.
Taryo, O,
(1984). The rice in myth and legend. The Courier, UNESCO, 37th Year,
Dec. 1984. p. 9-13.
Uchida, R. (2010)., Rice-planting music of Chindo (Korea) and the Chugoku Region (Japan). In J. Blacking & J. W. Kealiinohomoku (eds), The performing arts music and dance (pp. 109-118). Mouton publishers.
स्रोत : आदिवासी जनजाति अध्ययन, प्रदर्शनकारी कला विशेषाङ्क, वर्ष २, अङ्क २, २०८०, आदिवासी जनजाति आयोगले प्रकाशन

Comments
Post a Comment