याक्थुङ स्थाननाम, मुन्धुम र लोकविश्वासमा मुक्कुम्लुङ्मा !

मारोहाङ खवाहाङ लिम्बु, पिएचडी
डी.बी. आङ्बुङ
प्राज्ञ अमर तुम्याहाङ


परिचय

याक्थुङ् लाजे लिम्बुवानका मूलवासी अर्थात् आदिवासी जनता लिम्बू (याक्थुङ) राष्ट्रको आफ्नै मौलिक मुन्धुम, भाषा, संस्कृति, इतिहास र जीवनदर्शन छ । उनीहरूको आदिभूमि वा थातथलोलाई सबैभन्दा पहिले फाँढफुँड र खनजोत गरी चर्ची ल्याएका हुन् । यो भूमिको विभिन्न स्थान डाँडाकाँडा, पहाड पर्वत, हिमाल, भञ्ज्याङ्, लेकबेँसी र खोलानाला लगायतका स्थानलाई उनीहरूले नै सबभन्दा पहिले आफ्नै मातृभाषामा स्थाननाम दिएका हुन् । यसरी कुनै पनि स्थानको नाम दिने यो परम्परालाई उनीहरूले कुनै अर्थ र उपादेयता विना हावाकै तालमा सुरुवात गरेका होइनन् । यसमा उनीहरूको आफ्नै मौलिक भाषा, मुन्धुम परम्परा, लोकविश्वास र ती स्थानप्रतिको बुझाइ तथा अन्तरक्रियालाई प्रतिबिम्बित गर्न ती नामहरू दिँदै राख्दै आए र त्यसैको निरन्तरतामा मान्दै पुज्दै पनि आएका हुन् ।

स्थाननाम राख्ने र त्यसलाई निरन्तरता दिने तथा त्यसमा केही व्रmमभङ्गता आउने वा विभिन्न कारणले हस्तक्षेप एवम् औपनिवेशीकरण भई प्रतिस्थापन, विलयीकरण अर्थात् अर्को भाषामा उल्था हुने चलनले विभिन्न मौलिक नामहरू परिवर्तन भइरहेका छन् । यसमा याक्थुङ लाजे लिम्बुवानका मौलिक स्थाननामहरू पनि अछुतो रहन सकेका छैनन् । यसै सन्दर्भमा लिम्बुवानकै प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थल ‘मुक्कुम्लुङ्मा’को नामका बारेमा व्यापक बहस उठेको छ । मुक्कुम्लुङ्माको नाम बारेमा उठेका बहसलाई थप सशक्त बनाइ यसलाई सही मार्गप्रशस्त गर्ने उद्देश्यले विशेषत: यसको नाममा केन्द्रित भई याक्थुङ मुन्धुम तथा लोकविश्वास र स्थाननाम रहने मानवशास्त्रीय तथा भाषावैज्ञानिक आधारमा यो आलेख प्रस्तुत गरिएको छ । 

यो आलेखको मुख्य प्रश्न अहिलेसम्म बहसमा आएका नाममध्ये याक्थुङ मुन्धुम र लोकविश्वास तथा भाषा विज्ञानका आधारमा कुन नामचाहिँ सत्यतथ्यसँग नजिक हुनसक्दछ भन्ने बारेमा चर्चा परिचर्चा गर्नु रहेको छ । 

यस आलेखमा केही पूर्व साहित्य समीक्षा, स्थाननाम रहने र त्यसलाई अध्ययन वा व्याख्या विश्लेषण गर्ने केही सैद्धान्तिक दृष्टिकोण तथा विधिहरू, याक्थुङ भाषाको पहाड पर्वत विशेषको नाम रहने ‘लुङ्’ परम्पराका साथ याक्थुङ मुन्धुममी तथा लोकविश्वासका आधारमा मुक्कुम्लुङ्माको नाम मुक्कुम्लुङ्मा नै सही हो वा होइन भन्ने बारेमा केही प्राथमिक तथा द्वितीय स्रोतका आधारमा अध्ययन र बहस गरिएको छ । 

मुक्कुम्लुङ्मा बारेका पूर्व अध्ययनहरू

राजेश्वर थापा (वि.सं. २०७४) ले पावन पवित्र मुक्कुम्लुङ्मा पुस्तक लेखेका छन् । यस पुस्तकमा मुक्कुम्लुङ्मा परिचय; युमाधर्म, दर्शन र संस्कृति, नामकरण, अवस्थिति, मुन्धुममा मुक्कुम्लुङ्माको कथा शीर्षकहरू रहेका छन् । मुक्कुम्लुङ्माको नामकरणका सम्बनधमा “‘मुक्कुम’ भनेको स्थानीय लिम्बू भाषामा ‘शक्ति’ या ‘बल’ र ‘लुङ’ भनेको सामान्यत: ‘ढुङ्गा’ या चट्टानहरूको माला या सृङ्खला भएकाले शक्तिदायक पहाड सृङ्खला हो । युमा साम्माङ्को बासस्थान” थापाले उल्लेख गरेका छन्, “मुक्कुम्लुङ्मा भनेको शक्तिशाली स्त्रीरूप हुन्” (पे. १२) । उनले ‘मुन्धुममा मुक्कुम्लुङ्माको कथा’मा तेजबहादुर फागो पन्धाक सङ्कलित ‘सावा ये़त्हाङ् मुन्धुम’लाई आधार मानेर मुजिङ्ना खेÞयङ्ना, उनका छोरा सुसुवे़ङ लालावेÞङ्ले थोसुलुङ्मा फियाम्लुङ्मा, योसुलुङ्मा मुक्कुम्लुङ्मासँगका विवाह र मृत्युसम्मका आख्यानहरू उल्लेख गरेका छन् । तुम्म्याङ लक्ष्मण मेन्याङ्बो (२०६२) सङ्कलित ‘याक्थुङ मुन्धुम’लाई आधार मानेर मुक्कुम्लुङ्मा सिसा वे़न्छिङ् नाहे़न् पो:क्मा (स्त्रीहरूमा आँखीडाही), तिङ्दिङ नाहेÞन् इ:ङ्मा मुन्धुम (आँखीडाही मन्साउने मुन्धुम), तङ्सिङ्मा युमा इङ्दत् ना:क्मा चबेक् (तङ्सिङ्मा युमाको पुकारा), ये़गेसिङ् फो:ङ्सिङ्मा (आङ्का गुरुहरू, पुज्यनीय गुरुहरू र जलथलका देवहरूको नाम पुकार्ने) र मुन्धुक्मा मुन्धुममा मुक्कुम्लुङ्मा डाँडो आउने उल्लेख गर्नु भएको छ । थापाको अध्ययनको निष्कर्ष यस प्रकार रहेको छ: 

...युमा धर्मले आआफ्नो ढङ्गले वर्णन गरेका देवीहरूको क्रिडास्थल, लीला प्रदर्शन स्थल, निकै फराक तथा विशाल वन, पर्वत सृङ्खलामा भएको र त्यस्तो फराक तथा विशाल वन पर्वत सृङ्खला यस द्विपमा यही पाथिभरा पर्वत क्षेत्र देखिएकोले ...लिम्बूहरूकी महादेवी युमा साम्माङको वासस्थान यही क्षेत्र हो भन्न सकिन्छ (पे. ४२) ।  









अर्जुनबाबु माबुहाङ (२०७७) ले ‘पाथीभरा होइन मुक्तिफोमाङ’ लेख लेखि पाथीभरा डाँडोको नाम ‘सेमुक्तु मुक्तुकोक्मा’ उल्लेख गरेका छन् । हज्सन पाण्डुलिपिको खण्ड ८६ को पत्रमा सिरिजङ्गाले सिरिजङ्गा लिपिमा लेखेको कुरा गर्दै माबुहाङले उक्त लेखोट निम्न अनुसार लिप्यान्तर गरेका थिए :

ओम श्री उगेनपोमा । ओम मारुङ साङसे साङ्से साङसे । ओम श्री मुवोकवामा रे तगि मो साङसे साङसे साङे । ओम मारूङ । ओम श्री लामारे तगि मो साङसे साङसे साङसे ओम मारुङ .. ओम श्री उगेन पोमा नु ओम श्री पण्डितहाङरे लाङबे नेमा यो सेवा हुक्सो नेमा सेवा चोङारो । ओम श्री नामले तगिमो श्री माङले तगि मो श्री जङ .. श्रीजङ्गारे याक्थुङहाङ साप्ला लतुङरो याक्थुङहाङरे निप्मा साप्मारो सेवा चोकमारो साङसाङ ओमा सेवा चोक्मारो ओम फक्ताङलुङमाङ माहादेवाजीउ केयुङ श्री मुक्तिफोमाङ केयुङरो साङ केयेप्लो श्री सिदिङचोक्मा माङ केयुङलो केजम थाङलारो ओम श्री चाङधुङबोमाङ केयुङलो । साप्ला नेरो श्री इसाङलेमा माङ केयुङरो । ...सेवा चोक्मारो । निङवा खाहुन साप्ला नाक्मारो सेवा चोक्मारो । इतुङ नोग ता र चोगुङलो ।

यही लेखोटको आधारमा माबुहाङले पाथीभराको मुन्धुमी नाम ‘मुक्तिफोमाङ’ पुष्टि हुन्छ भनी लेखेका छन् । 












तर तिलबिक्रम नेम्माङ (२०२१) अनुसार माबुहाङले आधार मानेको लेखोट खण्ड ८६ नभई फोलियो २(द) हो र यो सिरिजङ्गाले लेखेको नभइ श्रीफुङ भन्ने व्यक्तिले लेखेका हुन् । काइँलाले यसलाई निम्नअनुसार लिप्यान्तर गरेका छन्:

हरफ (१) 

ओम् श्री उत्चे(न्) पेमा ओम् माहुङ् शाङ्शो शाङ्शो शाङ्सो ओम् श्री मुबोक्वामाले तगिमु – –

हरफ(२) 

शाङ्शो शाङ्शो शाङ्शो ओम् माहुङ् अम् श्री लामाले तगिमु शाङ्शो शाङ्शो शाङ्शो ओम् मा हुङ् – –

हरफ(३)

ओम् श्री उचे(न्) पेमा नु ओम् श्री मुपोक्वामा नु ओम् श्री लामा कुरु नु कुन्सि तगिमु श्री पोन्दित् ता (पण्डित?)– 

हरफ(४) 

हाङ्ले लाङ्बे नोमा एपलो हुक्पे नोमा सेवा चोङा (चोक्का?) लो ओम् श्री नाम् ले तगिमो– –

हरफ(५) 

श्री माङ्ले तगिमो श्री चान्देजिले तमो श्री मुपोक्वाले तगिमो श्री लामा कुरुले –– 

हरफ(६) 

तगिमो श्री शीचाङगाले याक्थुङ हाङ शाप्ला लतुङ् लो याक्थुङ हाङले निप्मा शाप्मा लो शेवा – – 

हरफ(७) 

चोक्मालो साङसिङ् ओमा शेवा चोक्मालो ओम् श्री फक्ताङलुङ् माङ् माहातेवाजियु केयुङ् श्री मुक्ति पो 

हरफ(८) 

माङ् केयुङ लो साङ् केयेम् (केयेप्?) लो श्री सितिङचोमा माङ् केयुङ् लो केचम्धाङ् वा लो ओम् श्री चाङ्धुङ –– 

हरफ(९)  

माङ केयुङ लो शाप्ला नेलो श्री इसाङलेमा माङ केयुङ् कल् लि कत् (कलिगत?) येम् लो सेवा चोमा (चोक्मा) लो ।। 

हरफ(१०) 

सिवा खाहुन् शाप्ला ङामा (नाक्मा) लो सेवा चोमा (चोक्मा) लो इतुङिङ्ग ताल चोगुङ्ग नोलो ङाक्तुङ्ङिग खोसुङ् लो –

हरफ(११)

 . . . . नोल लो शाप्तुङिङ्ग नु ल लो निरुङिग लेसु लो आसे आसेवा लो ।।––


















सोआस (लन्डन युनिभर्सिटी) का लागि ब्रिटिस लाइब्रेरीमा याक्थुङ भाषासँग सम्बन्धित सामग्री अध्ययन गरिरहेका प्रा.डा. रमेश ढुङ्गेललाई उहीँ पुगेर नेम्बाङले ५ हप्ता समयसम्म याक्थुङ् सामग्रीलाई देवनागरी लिपिमा लिप्यान्तरण गर्न सघाएको उनले हज्जन पाण्डुलिपिको भो. ८६ भित्रको फोलियो २(ब), २(द), ३ (ब, द), ४(ब, द) र ५(ब,द) मध्ये २(द) पृष्ठ हो र त्यसमा लेखिएका ११ हरफहरू मध्ये ७ औँ हरफको अन्तिम दुई शब्दहरू ‘मुक्ति पो’ र आठौँ हरफको पहिलो शब्द ‘माङ’ उल्लेख भएको उनले बताएका छन् । यसलाई ‘मुक्तिफोमाङ’ भनेर भन्नु युक्तिसङ्गत नभएको उनको निष्कर्ष रहेको छ । अर्कोतिर ‘मुक्तिफोमाङ’ भनेको पाथीभरा हो भन्ने पनि यहाँ पुष्टि हुँदैन । साथै हज्सन सामग्रीमा मुक्कुम्लुङमा शब्द नै छैन भन्नु तथ्य विपरीत भएको नेम्बाङले बताएका छन् ।

केहीमध्ये हज्सन पाण्डु लिपि (भो.८४, पृ. ११२, याक्थुं हां मुथुं, वस्ता लं. ५, २६/५) को हरफ १०–११ मा फियामलुङ्मापछि मुकुमलुङ्माको उल्लेख छ भनी नेम्बाङले निम्न अनुसार लिप्यान्तर गरेका छन् :

हरफ १० : 
खाप्मो फियामलुङ्मा पोक्सेलो आन्दाङ यो मु–
हरफ ११ : 
कुमलुङमा ।। नेसिङ हेयो ।। सावाला येत्हाङ आया मेबोङलो ।।



























दिलेन्द्र कुरुम्बाङ (२०७८)ले ‘पाथीभरामा निसासिएको मुक्कुम्लुङको पहिचान’ लेख लेखेका छन् । यस लेखमा मुक्कुम्लुङ्मा उत्पत्तिबारेको कथा, रैथाने याक्थुङ मिथक, मुक्कुम्लुङ नामको इतिहास, मुक्कुम्लुङ र मुक्कुम्लुङमाको अन्तर, आन्तरिक आप्रवासनले मेटिएका स्थाननाम, मुक्कुम्लुङ पुन:स्थापनाको पहल, सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन के गर्ने भन्ने कुरा उल्लेख छन् । मुक्कुम्लुङ्माको उत्पत्तिबारेको कथामा भेडी गोठालोले भेडा हराएको, सपनामा एकजना स्त्री आएर त्यस डाँडोमा फोहर गर्यौ भनेको, बिउँझिएपछि भेडा भाकल गरेपछि हराएका भेडाहरू पाएको र त्यसपछि यहाँ पूजा गर्न थालिएको प्रसङ्ग उल्लेख छ । कुरुम्बाङ्ले रैथाने याक्थुङ मिथक अनुसार मुक्कुम्लुङ्मा डाँडोमा देखा पर्ने र अनेक लीला गर्ने देवी युमा हुन् भन्ने याक्थुङ समुदायको विश्वास रहेको मुक्कुम्लुङलाई याक्थुङ पुरोहित फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुम्लुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगो:क्, चेप्तीगो:क्, मुक्तीफो माङ आदि नामले पुकारेको उल्लेख गरेका छन् । मुक्कुम्लुङ्मा अहिले पूजा गरिने थानको पछाडि भिरमा रहेको मूल थान ढुङ्गाको भएकाले त्यसकै आधारमा यसको नाम मुक्कुम्लुङ रहन गएको उनले तर्क गरेका छन् । आन्तरिक आप्रबासनले यसको मौलिक नाम र अवस्था सबैमा हस्तक्षेप भएको र अब यसलाई मौलिक र प्राकृतिक अजस्थामा पुनस्र्थापित गरिनु पर्ने उनको सुझाव रहेको छ । 

थापाले मुक्कुम्लुङ्मा नाम मुन्धुममा आधारित रहेको, माबुहाङले मुन्धुम अनुसार मुक्कुम्लुङ्मा नभई ‘मुक्तिफोमाङ’ भएको र काइँलाले माबुहाङको तर्कको स्रोत र स्रोत लिप्यान्तरणको शब्दावलीमा तालमेल नभएको र मुक्कुम्लुङ्मा भएको तर्क गरेका छन् । कुरुम्बाङ्ले भने मुक्कुम्लसङ्माका सन्र्दभमा मुन्धुममा प्रवेश नगरेको र भिरमा रहेको ढुङ्गोको थानको आधारमा शक्तिको ढुङ्गो मुक्कुम्लुङ नाम रहेको निष्कर्ष प्रस्तुत गरेका छन् । यति हुँदा हुँदै पनि यसको विविध नाम पाइएको उनको निचोड छ । 

स्थाननामबारे केही ऐतिहासक, भाषावैज्ञानिक तथा मानवशास्त्रीय दृष्टि र विधि

मानवशास्त्र, समाजशास्त्र, भाषाविज्ञान र भूगोलजस्ता विधाले कुनै पनि स्थाननामको सम्बन्ध त्यस समाज र संस्कृतिसँग अन्यौन्याश्रित रूपले जोडिएको मान्दछ । भाषा विज्ञानको शाब्दिक सिद्धान्त अनुसार, कुनै पनि शब्द मनमानी वा यादृच्छिक किसिमको हुन्छ: यसको आवाज र अर्थमा कुनै पनि अन्तर्निष्ठ संयोजन हुँदैन; यसको प्रकार्य व्याकरणिक हुन्छ । यद्यपि, नामहरूचाहिँ विशेष शब्द हुन् । हामी नामहरू भने तिनीहरू कसरी आवाज निकाल्छन् र पहिल्यैदेखि त्यसले कस्तो प्रतिनिधित्व जनाएको छ भन्ने कुराका आधारमा राख्दछौँ । त्यसैले, अरु शब्दजस्तो स्थाननामहरू भने मनमानी वा यादृच्छिक किसिमका हुँदैनन् । यिनीहरूको खास अर्थ र उपादेयता हुन्छ । कुनै पनि स्थाननामहरू मानिसले कुनै विशेष अर्थमा नियतवस नै राखेका हुन्छन् । तर सयमको अन्तरालमा कुनै पनि ठाउँ वा स्थाननाम दुर्बोध वा अस्पष्ट (opaque) भई खास मौलिक नाम भने लोप पनि हुनसक्दछ । यति खेर त्यो नाम नाम नभई केवल एक शब्दमात्र अनुभूत हुन पुग्दछ । यस अवस्थामा यो यादृच्छिक हुन जान्छ (Radding & Western , 2010, pp. 359, 394, 396) । भाषावैज्ञानिका परिभाषा अनुसार दुर्बोधता वा अस्पष्टता (opacity) हुनु भनेको कुनै पनि स्थाननामलाई त्यसको ऐतिहासिक तथा रूपार्थिक बनावट (morphosemantic composition) अनुसार विश्लेषण गर्न चुक्नु हो ।

यसरी एक कुनै पनि स्थाननाम एक पटक दुर्बोध वा अस्पष्ट भए पनि हामी यसलाई हाम्रो लोकविश्वास र शाब्दिक ज्ञान अनुसार पुन: नामकरण गर्दछौँ । किनकि हामी यसलाई आफ्नैपनमा बुझ्न र अथ्र्याउन चाहन्छौँ । यसरी नाम दिँदै जाने व्रmममा हामी यसको ऐतिहासिकता र वास्तविक नामसँग विमुख हुन पुग्दछौँ (Brinton & Traugott, 2005, p. 103) । 

स्थाननाम अध्ययनका पनि विभिन्न शाखाहरू छन् । त्यसमा कुनै भौतिक भूगोलको पहाड, पर्वत र हिमालसम्बन्धी अध्ययन गर्ने शाखालाई पहाड–पर्वतनाम oronyms भनिन्छ (Room, 1996, pp. 75, 94) । यस प्रकारको अध्ययनलाई toponyms पनि भनिन्छ जसमा स्थान नाम राख्दा विशेष गरी त्यस स्थान वा ठाउँको लोकले देखेको वा विश्वास गरेको विशेषताको आधारमा नाम राखिन्छ । रेडिङ र वेस्टर्न (2010, p. 407) का विचारमा जब स्थान नामको अर्थ बृहतर हुन पुग्दछन् तब तिनले बिम्बको रूप लिन पुग्दछन् (When a toponym stands for a larger idea, it is a metaphor) । उदाहरणका रूपमा महादेव वा शिवको कृडास्थल कैलाश भनेजस्तै जो सामान्य स्थान विशेषको आधारमा राखिएको नामभन्दा बृहत्तर अर्थ विस्तार भइ बिम्बको रूप लिएको मान्न सकिन्छ ।

कुनै स्थाननामको अर्थ के हो भन्ने कुरा भाषिक विश्लेषणको आधारमा ठम्याउन सकिने भए तापनि त्यो नाउँ किन रहन गयो भन्ने कुराचाहिँ इतिहासको गर्भमा लुकेको हुन्छ । तसर्थ, स्थाननामको व्याख्या गर्दा ऐतिहासिक पद्धति अपनाउनु जरुरी हुन्छ । सबै स्थाननामहरू विभिन्न ऐतिहासिक युगहरूमा नै अस्तित्वमा आएका हुन्छन् र तिनमा तत्कालीन ऐतिहासिक युगको छाप परेको पाइन्छ (श्रेष्ठ, २०४४, पे. झ) ।
 
यी सैद्धान्तिक दृष्टिकोण तथा विधि र पद्धतिका आधारमा यस आलेखमा याक्थुङ लाजे लिम्बुवानमा स्थानमा रहने आधार, प्रक्रिया र मुक्कुम्लुङ्मा नामलाई पहिचान गरिएको छ । 

याक्थुङ स्थाननाममा ‘लुङ्’

नेपालका स्थाननामहरूको स्रोतलाई मुख्यतया दुई भागमा विभाजित गर्न सकिन्छ । देशको उत्तरी भेकतिर तिब्बत–बर्मेली भाषा परिवारसित सम्बद्ध स्थाननामहरू बहुसङ्ख्यामा पाइन्छन् भने दक्षिणी भेकतिर चाहिँ भारोपेली भाषा परिवारसित सम्बद्ध स्थाननामहरूको प्राचुर्य छ । पहिलो वर्गका स्थाननामहरू लिम्बु, राई, शेर्पा लगायतका भाषाहरूमा छन् । यी वर्गमा पर्ने स्थाननामको अन्तमा ‘लुङ्’ र ‘जोङ्’ (चङ्)...आदि प्रत्यय रहन्छन् । मोटामोटी रूपमा ‘ङ’ कारमा अन्त हुने सबै स्थाननामहरू यसैवर्गभित्र पर्दछन् (श्रेष्ठ, २०४४, पे. घ) । 

सिनो–तिब्बती–बर्मन भाषा परिवारका लिम्बु, राई, लुसाई (मिजो), कुकी–चीन माराम, लिआङ्मेई लगायतमा भाषामा ‘लुङ्’ शब्दको विविध अर्थहरू लाग्दछन् । यो एक बहुअर्थी विशेष शब्द हो । यी भाषामा ‘लुङ्’को अर्थ ढुङ्गा (लुङ्), मुटु (लुङ्मा), माया–प्रेम (लुङ्माइ:), अण्ड, गर्भ (सालुङ्) र पहाड–पर्वत–हिमाल (फक्ताङ्लुङ्, सेन्छेलुङ, वधि:न्लुङ्, सेवालुङ्, केवालुङ) लगायत हुन्छ (Matisoff, 2003, pp. 50, 101; 2008, pp. 22, 180, 223, 225) ।

याक्थुङ (लिम्बु) भाषा, बुझाइ र जीवनमा सृष्टिको शुभाराम्भ लुङ् (सिमिक्लुङ् र नावालुङ्–चइ:त्लुङ्) बाट हुन्छ । मानिसको सृष्टि वा जन्म पनि ‘लुङ्’ अर्थात् गर्भ (आबु सारुङ् वा सालुङ्) बाटै हुन्छ । मानिस जन्मपछि उसको समाज ‘चुम्लुङ्’मा रहन्छ । परिवार र समाज रहँदा ऊ एकापसमा माया–प्रेम (लुङ्मा तुक्सिङ्) सहित माया–प्रेमकै डोरो ‘लुङ्माइ:’ मा बाँधिएर वा बेरिएर रहन्छ । उसलाई संरक्षण र संवद्र्धन गर्ने पनि ढुङ्गा ‘आप्लुङ्’ नै हो । उसले खेल्ने खेल पनि छेलो ढुङ्गा ‘पक्लुङ्’ नै हो । उनले जीवनको तान बुन्ने वा अड्याउने साधन पनि उही तान राख्ने र तन्काउने ढुङ्गा ‘थाक्पेलुङ्’ र ‘खिबेलुङ’ नै हो । ऊ बाँच्दा र हरेक काम कुरा गर्दा उसको अन्तिम उद्देश्य सिद्धिस्थलको ढुङ्गा ‘चो:त्लुङ्’मा पुग्न वा त्यसलाई छिचोल्नु रहन्छ । उसको मृत्युपछि पनि ढुङ्गा माटोमुनि समाधिस्त गरेर एक मृतकको चिहानको चिनो ढुङ्गा ‘सुत्लुङ्’ गाढी राखिन्छ । यसर्थ, एक याक्थुङ अर्थात् लिम्बुजनको लागि ‘लुङ्’ उसको सारा संसार वा समग्र सांसारिक जीवन हो । 

मुन्धुममा मुक्कुम्लुङ्मा 

चइ:त् मुन्धुममा मुक्कुम्लुङ्मा

मुन्धुम र मुक्कुम्लुङ्मा अर्थात् मुन्धुममा मुक्कुम्लुङ्माको प्रसङ्ग । याक्थुङ जातिको मुन्धुमले विश्व ब्रह्माण्डको उत्पत्ति, चराचरको उत्पत्ति, मानव उत्पत्ति, समाज विकास, संस्कार र संस्कृति स्थापत्य अन्तरनिहित छन् । मुन्धुमले याक्थुङ जातिको धर्म, दर्शन, संस्कृति, समाज, अर्थ, राजनीति जस्ता पक्षहरूलाई दिशानिर्देश गर्दछ (लिम्बु, २०७५, पृ. २२) । यस मुन्धुमको विभिन्न प्रकाण्डहरूमध्ये मूल नावाचइ:त् मुन्धुम हो । नावाचइ:त् मुन्धुम अर्थात् सृष्टि मुन्धुमको क्रम (१) इक्सा खाम्बे:क् पो:ङ्मा मुन्धुम (ब्रहमाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुम), (२) पो:क्ला सिङ्ला पो:ङ्मा मुन्धुम (वनस्पति उत्पत्तिको मुन्धुम), (३) थक्सा पुसा पो:ङ्मा मुन्धुम (जीवजन्तुको उत्पत्तिको मुन्धुम), (४) मे़न्छाम् याप्मि पो:ङ्मा मुन्धुम (मानव उत्पत्तिको मुन्धुम), (५) सावा ये़त्हाङ् पो:ङ्मा मुन्धुम (सकल आठ मानव उत्पत्तिको मुन्धुम), (६) पेगि/पेलि फाङ्साम् से़मा मुन्धुम (देवदूत नौ सामनहरू छुटिने मुन्धुम) र (७) सिजोला इङ्मिसा नु तुम्म्याङ् से़मा मुन्धुम (देवदूत र भलाद्मी छुटिने मुन्धुम) पर्दछन् । यसलाई पनि कतिपय साम्बा, तुत्तु तुम्म्याङ्ले अझै मिहिन प्रशाखामा विभाजन गर्ने पनि गर्दछन् ।

सृष्टि मुन्धुमका यी प्रकाण्डहरू मध्ये इक्सा खाम्बे:क् पो:ङ्मा मुन्धुम अर्थात् ब्रहमाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुममा मुक्कुम्लुङ्मा पहाडको उत्पत्ति अरु हिमाल पहाडहरूको उत्पत्ति हुने व्रmममा सँगसँगै उत्पत्ति भएको वर्णन भएको पाइन्छ । ताप्लेजुङ जिल्ला फुङ्लिङको अम्बिटारमा फे़दाङ्मा सङ्जुम्भोको आयोजनामा भएको तीन राते तङ्सिङ्मा साम्बा हाङ्यम्बु भिमबहादुर लिबाङ, याबोक्को या हाङ्यम्बु बिर्खबहादुर वनेम, सोधुङ् ले़प्मुहाङ् साम्बा हाङ्यम्बु रन्धोज सेरे़ङ आदिको ताधक्मा गरेको मुन्धुम जसराज लिम्बु पन्धाक (२००३) ले सङ्कलन गर्नु भएको मुजोक्लुङ् खाजोक्लुङ् मुन्धुममा मुक्कुम्लुङ्मा तपसिल बमोजिम उत्पत्ति वर्णन छ : 

पोरोक्मिरे़ यम्भामिरे़ 
साक्फा ले़क्खु कुहुक् साक्खुल्ले़ 
सिनाहि:क् थे़नाहि:क् ल:न्दे़ 
सिये़ङ्घा थे़ये़ङ्घा ल:न्दे़ 
आल्ल
सिये़ङ्घारे़ थे़ये़ङ्घा? थाप्तु
थे़येङ्घा?रे़ सिखुरुङ् ल:त्तु
सिखुरुङ्ले़ वखुरुङ् ल:त्तु 
वखुरुङ्ले़ पारुङ् मारुङ् थाप्तु
पारुङ् मारुङ्रे़ हाप्मो 
ताम्बि?लुङ् ग सुयोलुङ्ले़ 
वयालुङ् ग चोजिलुङ् थाप्तु 
... ... ...
याम्मो 
ताम्बि?लुङ्ले़ सुयोलुङ्ले़ 
थोसुलुङ् फियाम्लुङ्मा
योसुलुङ्मा मुक्कुम्लुङ्मा
थिङ्दाङ् सायो थाप्तुसि...(पे. १२२–१२४)

भावार्थ : भायम्भामि पोरोक्लिे आफ्नो बहुली झट्कार्दा सिनाहिक् झर्‍यो, सिनाहिक्बाट सिये़ङ्घा निस्कियो, सिये़ङ्घाले थे़ये़ङ्घा जन्मायो, थे़ये़ङ्घाले सिखुरुङ् निकाल्यो, सिखुरुङ्ले वखुरुङ निकाल्यो, वखुरुङ्ले पारुङ् मारुङ् जन्मायो, पारुङ् मारुङ्ले ताम्बि?लुङ् सुयोलुङ् र तिनले वयालुङ् चोजिलुङ् जन्मायो । फेरि ताम्बि?लुङ् सुयोलुङ्ले थोसुलुङ्मा फियाम्लुङ्मा, योसुलुङ्मा मुक्कुम्लुङ्मा जन्मायो ।

वैरागी काइँला सङ्कलित चइ:त् मुन्धुम (२०६०) मा सृष्टि मुन्धुमहरूमध्ये नावा चइ:त् अर्थात् सृष्टि वर्णन अन्तर्गत ब्रहमाण्ड र पृथ्वीको उत्पत्तिको मुन्धुममा अनगिन्ती हिमाल पहाडको उत्पत्ति हुँदा मुक्कुम्लुङ्मा पनि उत्पत्ति भएको वर्णन आउँदछ : 

ए... आल्ल 
इक्सा कुलुम्मो खाम्बे:क् कुलुम्मो ।।
इक्सा पे़हिओ खाम्बे:क् पे़हिओ ।।
से:क् से:क् इ:त्माग कुङे़ थाङे़बे ।।
हे़न्छे़ से:क् से:क् लुङ्मा रो ना:ङ्जङ्लुङ्मा रो ।। 
से:क्तक्सु लुङ्हा? ना:ङ्तक्सु लुङ्हा? ।।
था:प्साङ् मे़बोगे़ लाधे़ मे़बोगे़ ।।
चम्जम्लुङ्मा रो फक्ताङ्लुङ्मा रो ।।
केÞवालुङ्मा रो फियाम्लुङ्मा रो ।।
वाधि:न्लुङ्मा (?) रो सेवालुङ्मा रो ।।
ना:ङ्जङ् लुङ्माहा? चङ्फाङ् के:म्बाहा? ।।
था:प्साङ् मे़बोगे़ लाधे़ मे़बोगे़ ।।

अनुवाद : 
ए... अब  
पृथ्वीको केन्द्रबाट, नाभिबाट
चक्रवत् पृथ्वीको गतिबाट 
चिसो शीत जम्दै माथि आयो
त्यही चिसो शीतको श्रृङ्खला हिमालय भयो
चिसो शीतको पहाड हिउँले आच्छादित
उत्पत्ति भएर दृष्यमा देखिए
सगरमाथा र कुम्भकर्ण 
कञ्चनजङ्घा र फियामलुङ्मा
पाथिभरा (मुक्कुम्लुङ्मा) सेवालुङ्मा 
हिमालय पर्वतहरू र लामो पहाडको
महाभारतको पहाड (उत्पत्ति भएर) उठेको देखिए । (पे. १२)

यस पाठमा प्राविधिक त्रुटिका कारण पाथिभराको याक्थुङ् रूप मुक्कुम्लुङ्मा हुनुपर्नेमा वाधि:न्लुङ्मा पर्न गएको देखिन्छ । 

यसरी नै तुम्म्याङ् लक्ष्मण मेन्याङ्बोबाट यभत्लुङ् फावामा क्षेत्रतिर प्रचलित मुन्धुम सङ्कलित याक्थुङ् मुन्धुम (२०६२) मा मुक्कुम्लुङ्माको उत्पत्तिको मन्धुम फरक् ‘सेमुक्तिलुङ्’ नाममा उल्लेख भएको पाइन्छ । उहाँले इक्सा खाम्बेक् पोक्मा मुन्धुमलाई नै कोइ फाङ्जङ्हा? पो:क्मा उपशीर्षकमा यो उल्लेख गर्नु भएको पाइन्छ : 

मा?ए होऽ फक्ताङ्लुङ्मे़रे़ पे़म्बे़न्लुङ् थाप्तु
मा?ए होऽ मुसेवालुङ्मे़रे़ सेवालुङ् थाप्तु
मा?ए होऽ फा?लेलुङ्मे़रे़ इसाङ्लुङ् थाप्तु 
मा?ए होऽ इसाङलुङ्मे़रे़ क्याबोलुङ् थाप्तु
मा?ए होऽ क्याबोलुङ्मे़रे़ सङ्सङ्लुङ् थाप्तु 
मा?ए होऽ सङ्सङ्लुङ्मे़रे़ पोरोक्लुङ् थाप्तु 
मा?ए होऽ पोरोक्लुङ्मे़रे़ यम्फालुङ् थाप्तु 
मा?ए होऽ सेमुक्तिलुङ्मे़रे़ मुक्तिबुङलुङ् थाप्तु 
मा?ए होऽ कोहिने मे़बोखे़ रो फाङजङने़ मे़बोखे़ रो (पे. १७)

भावार्थ : फक्ताङ्लुङ्माले पे़म्बे़न्लुङ्, मुसेवालुङ्माले सेवालुङ्, फा?लेलुङ्माले इसाङ्लुङ्, इसाङ्लुङ्माले क्याबोलुङ्, क्याबोलुङ्माले सङ्सङ्लुङ्, सङ्सङ्लुङ्माले पोरोक्लुङ्, पोरोक्लुङ्माले यम्फालुङ् जन्मायो । सेमुक्तिलुङ्माले मुक्तिबुङलुङ् जन्मायो । यसरी हिमाल पहाडहरू बने भनी उल्लेख छ ।

मेÞङ्गाङ्लुङ् (मुगा:ङ्लुङ्) का:ङ्वामा मामाङ्खेका ये़भक्को यासेरि देउमान माबो (२०७८ साउन १७ को संवाद) का अनुसार चम्जम्लुङ्मा, फक्ताङ्लुङ्मा, सेवालुङ्मा, केवालुङ्मा, फियाम्लुङ्मा, चुङ्घुत्लुङ्मा, मुक्कुम्लुङ्मा, वाधि:न्लुङ्मा आदि हिमाल पहाडहरूको उत्पत्ति भएको मुन्धुममा वर्णित छ । 

मुन्धुमका यी प्रसङ्गहरूले मुक्कुम्लुङ्मा आदिम शक्ति रूप पहाडका रूपमा पुकारिएको देखिन्छ । यसको नाम पनि याङ्वारक क्षेत्रको यभत्लुङ् फावामा क्षेत्रमा यसलाई अरुतिर भनिने मुक्कुम्लुङ्मा नामभन्दा फरक सेमुक्तिलुङ् भनिएको देखिन्छ । सेमुक्तिलुङ् शब्दको सेसे मुक् के़दि:प्पा लुङ् अर्थात् पवित्र शक्ति प्रज्ज्वलित हुने पहाडका रूपमा पुकारिएको देखिन्छ । सेमुक्तिलुङ्ले मुक्तिबुङलुङ् जन्मायो भन्ने सन्दर्भले मुक्तिबुङलुङ् (मुक् के़दि:प्पा या शक्ति बल्ने मूल ढुङ्गो वा पहाड) अर्कै भएको सङ्केत गर्दछ । याङ्वारक क्षेत्रकै मुगा:ङ्लुङ् का:ङ्वामा क्षेत्रमा भने शक्तिको पहाड मुक्कुम्लुङ्मा नामले नै पुकारिएको देखिन्छ । 

सावा ये़त्हाङ् पो:ङ्मा मुन्धुममा मुक्कुम्लुङ्मा 

याक्थुङ मुन्धुम अनुसार पहिलो मानव पुर्खा मुजिङ्ना खेयङ्ना (मुयङ्ना) हावा बतासको माध्यमबाट गर्भवती भइन् । यसपछि उनको एक बुबा विनाको छोरा जन्मियो । उनको सानो छँदाको नाम सुसुवेङ् लावावेङ् र ठूलो भई धनुकाँड चलाएर शिकार खेल्न सक्ने भएपछिको नाम सावा युक्पुङ्गेम्बा थियो । आफ्नो आमाको सुझाव र निर्देशन अनुसार सावा युक्पुङ्गेम्बा धनुकाँड, सुनको छेलो र आफ्ना चार कुकुरहरू कोचो–तङ्ना, ख्या–तङ्ना, किधि–तङ्ना, परा–तङ्ना लिएर शिकार खेल्न वन–जङ्गलतर्फ लागे । यसरी दक्षिणतिर छेलो हान्दै मृग (पे़ङ्वा)को सिकार खेद्दै जाँदा उनी एक पर्वतको शिखरमा पुगे । त्यहाँ पुग्दा उनले एक महिला तान बुन्दै गरेको भेटे । त्यही ठाउँमा उनका शिकार मृग र शिकारी कुकुरहरूको पाइला पनि पुगेर अलप भयो । खासमा ती मृग र शिकारी कुकुरहरू तिनै महिलाले त्यहीँ लुकाई दिएकी थिइन् । यसरी एकान्तमा सुनको गहनाले धपक्कै बलेकी तरुनी तान् बुन्दै बसेकी थिइन् । चिनारी गर्दा उनी योसुलुङ्मा मुक्कुम्लुङ्मा भएको थाहा भयो । पछि विशेष मानमनितो र विधि पुर्‍याएपछि तिनै मुक्कुम्ङ्माले अल्पाएका मृग र कुकुरहरू पत्ता लगाउने जुक्ति सिकाइ सोही अुनसार गर्दा ती सबै भेटिए । ती मुक्कुम्लुङ्मा तान बुन्न सो पहाडको शिखरमा र अरु बेला बास बस्न सो पहाडको फेदी तमोर (इम्बिरि याम्धा:ङ्वा) नदीको किनार छिरुवानी (लुङ्इक्वा)को एक ओढारमा बस्दथिन भन्ने लोक विश्वास छ । वास्तवमा, तिनै महिला मुन्धुममी पात्रको नाममा यो पर्वतको नाम मुक्कुम्लुङ्मा रहन गयो भन्ने लोकविश्वास पनि पाइन्छ । 

यसको मुन्धुम भने यस्तो छ :

सुसुवे़ङ्बा ग लालावे़ङ्बा ग
सावाङ्केम्बा ग युक्फुङ्केम्बा ग
सावाङ्नि थासिङ् युक्फुङ्नि थासिङ्
यासाआङ् साल्लो खिरेआङ् साल्लो
ले़क्वा मे़दे?रु चम्योक् मे़दे?रु
होहो ल?रिक् लो फिक्फिक् ल?रिक् लो 
सायो:क्खिम्मारे़ यो:क्खिम् मेÞबेरो
ले़क्वा थक्नुरो चम्योक् थक्नुरो 
योसोलुङ्मे़त्यो मुक्कुम्लुङ्मे़त्यो 
खन्नाङ् 
लाङ्फोल्लोफोल्लो थाक्साङ्लत् युङे़
हुक् फोल्लोफोल्लो खिजङरत् युङे़
यासाआङ् सान् ग खिरेआङ् सान् ग
ले़क्वारत् त्ये़ रो चम्योक्रत् त्ये़ रो 
थाक्चुम् चे़रु रो थाक्साङ् चे़रु रो 
आल्ल योसुलुङ्मे़ल्ले़ मुक्कुम्लुङ्मे़ल्ले़ 
थोलिसिङ्मे़ल्ले पे़ना हिप्तुल्ले़
यगुरत् त्येसु रो चङ्सिरत् त्येसु रो ।।

कङ् ग यासाआङ् सान् ग खिरेआङ् सान् ग
ले़क्वा थक्तुम् लो, चम्योक् थक्तुम् लो
तरङ् खिया ग ताङ्साङ् खिया ग
खियासामा ग पङ्उम्लत् मे़द्ये़ रो
याम्मो खा?यो माङ्वा पिरुसि कुजा पिरुसि
ले़क्वा मे़त्तुसि इएङ् मे़त्तुसि ।।

सावाङ् केम्बा ग युक्फुङ् केम्बा ग
वसारत् त्ये़ रो योलाम्रत् त्ये़ रो
लुङ्धाक्केजङ्ना पेइ:प्पेजङ्ना
ले़क्वा ये़बे़ रो इजिङ् ये़बे़ रो 
सक्वा ये़बे़ल्ले़ इजिङ् ये़बे़ल्ले़
थामे कुसिक्नि माए कुसिक्नि 
नालिथिक् ये़प्लो थाङ्बे़नर थिक् ये़प्लो 
पेलि मे़भाक्तु योबान् मे़भाक्तु
खियासामाबे़ पङ्उ:त् मे़दारुआङ्
याङ्सा के़जो:क्पाने़ कुन्धे के़जो:क्पाने़ ?

आङ्गा? 
सावाङ् के:म्बाआ युक्फुङ् के:म्बाआ
पेलि फाक्तुसि योबान् फाक्तुसि
खियासामारो पङ्उ:त् थासुसि
ले़क्वामा ते़न्ओ इजिङ्मा ते़न्ओ
काइ:क् काइ:क् मे़ल?रे़ कुइ:क् कुइ:क् मे़ल?रे़ 
से़क्खानु खानु कुनु माङ्से़क्लो
सावाङ् के:म्बारो युक्फुङ् के:म्बारो
थाप्सामिसाल्लो खिरेआङ्साल्लो 
आप्चा मे़फिन्दुरो, पुङ्मि मे़फिन्दुरो ।।
(सुब्बा, जसराज, २००३, पे. २६५–२६७)

यसरी प्रथम पुरुष मानव पुर्खा सावा युक्पुङ्गेम्बाले शिकार खेल्द जाँदा भेटेको तानबुन्दै बस्ने पहिलो तरुणी महिलाको नाम योसुलुङ्मा मुक्कुम्लुङ्मा थियो । उनले खेदाउँदै लगेको घाइते मृग र शिकारी कुकुरहरू लुकाई दिइन् । पछि, सावा युक्पुङ्गे:म्बाले अनेक बिन्तिभाउ गरी शिकारी भाषामा बोलाउँदा कुकुरहरू निस्कि आए । साथै, शिकार पनि निकाली दिइन् । खासमा यही मुन्धुमको अर्को भाष्य स्वरूप आज पनि मुक्कुम्लुङ्मा माङ्ले सयौँ भेडाहरू त्यसैगरी लुकाई दिएको र पछि बिन्तिभाउ र मानमनितो पुगेपछि मात्र निकाली दिएको किंवदन्ती अद्यापि छ । 

फो:ङ्सिङ्मा मुन्धुममा मुक्कुम्लुङ्मा

फे़दाङ्मा, साम्बा, ये़बा/ये़माले कुनै मुन्धुमी अनुष्ठान गर्दा फोङ्सिङ्मा (शक्ति आर्जनका लागि पुकारा) गर्दा थुप्रै हिमाल, पर्वत, खोलाहरूको पुकारा गर्दछन् । ये़भक्को यासेरि देउमान माबोका अनुसार याग्राङ्सिङ् फो:ङ्मा मुन्धुममा खोला, हिमाल, पहाड आदि शक्ति पिठहरूसँगै मुक्कुम्लुङ्मालाई यसरी पुकारा गरिन्छ :

ए इम्बिरि याम्धाङ्वा माङ्ङे
ए यभत्लुङ् फावामा माङ्ङे
ए मुगाङ्लुङ् काङ्वामा माङ्ङे 
ए... हे... 
ए थो चम्जम्लुङ् पे़म्बे़न्लुङ् माङ्ङे 
ए सेवालुङ् केवालुङ् माङ्ङे 
ए चुङ्घुत्लुङ् मुक्कुम्लुङ् माङ्ङे 
ए... हे.... ये़प्पित् पोगि रो... 

यस मुन्धुम पाठलाई हेर्दा यहाँ खोला, हिमाल, पहाडहरूलाई साम्बा, ये़बा/ये़माहरूले देवी देवताकै रूपमा पुकारा गरेको देखिन्छ जहाँ मुक्कुम्लुङ्मा पनि पर्दछ । 

तुम्म्याङ् लक्ष्मण मेन्याङ्बो (२०६२) ले ये़गेसिङ् फो:ङ्सिङ्मा मुन्धुममा हिमाल, पहाडहरूको पुकाराको मुन्धुम पाठ यसरी प्रस्तुत गरेका छन् :

तरङ् ए ताङ्साङ्लुङ् माङ्से
इक्सा ए खाम्बे:क्लुङ् माङ्से 
मुरोप्लुङ् खे़रोप्लुङ् माङ्से
मुघाप्लुङ् खेगाप्लुङ् माङ्से
वमे़न्लुङ् हङ्गोलुङ् माङ्से
कोहिलुङ् फाङ्जङ्लुङ् माङ्से
इसाङ्लुङ् फा?ले़लुङ् माङ्से
फक्ताङ्लुङ् पे़म्बे़न्लुङ् माङ्से
के़वालुङ् चन्जन्लुङ् माङ्से
क्याबोमे सङ्सङ्लुङ् माङ्से
पोरोक्लुङ् यम्भालुङ् माङ्से
सेवालुङ् सेसेलुङ् माङ्से
सेमुक्ति मुक्तिबुङ् माङ्से
वसाङ्लुङ् पयङ्लुङ् माङ्से... (पे. ८७–८८)

यसरी यहाँ पनि अनगिन्ती हिमाल र पहाडहरू देवी देवताका रूपमा पुकारा गरिएको देखिन्छ । यसमा पनि मुक्कुम्लुङ्मालाई सेमुक्ति (सेसे मुक्ति:त् या सेसे मुक्तिम्) सँगै मुक्तिबुङ् (सेसे मुक्ति:त् या सेसे मुक्तिम् पुङ् या पवित्र अखण्ड शक्तिको खानी) नाम पनि मन्त्रिएको देखिन्छ । 

चोत्लुङ्बाट फर्कने बाटोको एउटा विन्दु मुक्कुम्लुङ्मा 

तङ्सिङ् तक्मा अनुष्ठान गर्दा साम्बा, ये़बा/ये़माहरू चो:त्लुङ्मा पुग्दछन् र तुत्तु तुम्म्याङ् याक्ला सुहाङ्मा अर्थात् गन्यमान्य र भद्रमहिलाको रक्षा र कल्याण कर्म गरी हंस लिएर फर्कंदा उनीहरू विभिन्न हिमाल पहाड टेक्दै याग्राङ्सिङ वा थान भएको ठाउँमा आइपुग्दछन् । ये़भक्को यासेरि देउमान माबोका अनुसार चो:त्लुङ् पुगेर आकाश मार्गहुँदै फर्कंदा हिमाल, पहाडहरू टेक्दै यसरी फर्किइन्छ :

सुरित् लाङ्घे:क् लो 
       के़जङ् लाङ्घे:क् लो 
यो मुनादिङ् ते़म्बे
खाम्नादिङ् ते़म्बे
चम्जम्लुङ् सम्दो 
       पे़म्बे़न्लुङ् सम्दो 
सेवालुङ् सम्दो 
       केवालुङ् सम्दो 
चुङ्घुत्लुङ् सम्दो 
       मुक्कुम्लुङ् सम्दो  
वयादिङ् आगे़रे़ 
       सु:क्साङ् आगे़रे़  

सावारा ये़त्छाम् तुम्बा साम्बा सिद्धबहादुर साम्ब्युका अनुसार से़ल्ले़ङ्वा से़म्भोमा तावामा क्षेत्रमा मुक्कुम्लुङ्मालाई ‘कोइफाङ्जङ् यम्बा माङ्’ भनेर पुकारिन्छ । उनका अनुसार सिरे़? फोङ्मा गर्दा पनि यसलाई पुकारिन्छ । 
 
यसरी नै तुम्म्याङ् लक्ष्मण मेन्याङ्बो (२०६२) ले यभत्लुङ्लुङ् फावामा तिर प्रचलित मुन्धुममा अत्तु याङ्नुङ् नु:ङ्मा मुन्धुम ना:त्ला वा चरणमा पूर्ववत् जस्तै सेमुक्ति मुक्तिबुङ् भनि यसरी उल्लेख गर्नु भएको छ : 

...मा?ए होऽ सुरित् लाङ्घे:ङ्ले़ के़जङ् लाङ्घे:ङ्ले़  
मा?ए होऽ वाहित् लाङ्घे:ङ्ले़ पङ्गे़न् लाङ्घे:ङ्ले़
...मा?ए होऽ काराङ्वा इसिक् कुदिम् फन्नासिआङ्
मा?ए होऽ लिघु? आध्ये़ रो सु:क्साङ् आध्ये़ रो 
मा?ए होऽ इसाङ्लुङ् चङ्धो फा?ले़लुङ् चङ्धो 
...मा?ए होऽ ताङ्वारा इसिक् पे़सु:क् ये़म्मासि
मा?ए होऽ सेमुक्ति चङ्धो मुक्तिबुङ् चङ्धो 
मा?ए होऽ लिघु? आध्ये़ रो सु:क्साङ् आध्ये़ रो 

यस मुन्धुम पाठले तङ्सिङ् तो:त्लुङ् अनुष्ठान सकी फर्कंदा मुक् वा शक्तिको डाँडो सेमुक्ति:त् शिखर भएर फर्किनु पर्दोरहेछ । 

फरे़रे़ ये़भत्थिन् साम्बा भवानी अन्छङ्बोका अनुसार यही रितले मृत्यु संस्कारको साम्सामा गरी फर्कंदा, नाहाङ्मा गर्दा चो:त्लुङ् पुगी फर्कंदा आदि अवस्थामा पनि यही मुक्कुम्लुङ्मा या सेमुक्ति मुक्तिबुङ् भएर फर्किइन्छ (२०२१ जुलाइ ३० को जुम संवाद) । मुक्कुम्लुङ्मा वा सेमुक्ति मुक्तिबुङ् दुवै नाम मुन्धुमी नामहरू हुन् । ‘मुक्कुम्लुङ्’ नाममा ‘–मा’ प्रत्यय याक्थुङ् सजाममा स्त्री सत्ताको सङ्केत र आदरभावका रूपमा जोडिने र मुक्कुम्लुङ्मा नाम हुने अन्छङ्बोले बताउँछन् । 

तुम्म्याङ् कुलप्रसाद मेन्याङ्बो (२०७८ साउन १५ को संवाद) का अनुसार परम परमात्मा तागेरा निङ्वाफुमा माङ्को सावा ये़त्फे़क् के़ले़सिङ्मा (अनगिन्ती अवतारहरूमा अवतरित हुने) मध्ये जाज्वल्य शक्ति रूपिणी सेमुक्तित् मुक्तित्पुङ् मुक्कुम्लुङ्मा युमा? माङ्का रूपमा अवतरित भएको पवित्र तीर्थस्थलको रूपमा यो मुक्कुम्लुङ्मा पर्वतलाई पुकारा गरिन्छ । मुक्कुम्लुङ्माको पूजा गर्दा गरिने कुइकुदापलाई ध्यानमा राख्दा पनि मुक्कुम्लुङ्मा याक्थुङ्ले मानीपूजी ल्याएको युमा माङ् भएको मेन्याङ्बोको भनाइ छ । यहाँ कुइकुदाप भन्नाले पुङ्साम्, ताम्भुङ्ना, चभत् थुङ्वा माङ् र खन्ज?मा पर्दछन् । यी कुइकुदापको पूजा अर्चना भइसकेपछि अन्तिममा मात्र मुक्कुम्लुङ्माको पूजा आरधना गरिन्छ ।

मुक्कुम्लुङ्मा नाममा विविधता र थिबोङ् याक्थुङ थिम् इ:त्थिलि 

याङ्वारक् मुगा:ङ्लुङ् का:ङ्वामा मामाङ्खेका तुम्म्याङ् रनहाङ् माबोका अनुसार थिबोङ् याक्थुङ्हाङ् थिम् इ:त्थिलि (सिद्धान्त) अनुसार याक्थुङ्हरू बिच भाषामा भिन्नता, संस्कार, संस्कृतिमा भिन्नता मात्र होइन, मुन्धुममा पनि भिन्नता हुन्छ भन्ने मत राख्नु हुन्छ । उहाँका अनुसार थिबोङ् याक्थुङ्हाङ् थिम् इ:त्थिलि अनुसार मुन्धुम संस्कार, भाषा, संस्कृति सारमा एक भए पनि रूपमा अनेकता वा फरक हुन्छ । थिबोङ् याक्थुङ्हाङ् अर्थात् दस लिम्बुमा भएका अनेकतामा एकले अर्कोको रीतिथितिलाई सम्मान गर्नु थिबोङ् याक्थुङ्हाङ् थिम्को सुन्दरता हो । साम्बा सिद्धबहादुर साम्ब्यु पनि मुन्धुमको कुसि या सार एकै भए पनि खे़दा? या आख्यान फरक हुनसक्दछ तर त्यसमा एकअर्काले झगडा गर्ने कुरा हुँदैन । 

सम्भवत: थिबोङ् याक्थुङ्हाङ्हरूको शासनपूर्व ये़त्हाङ् अर्थात् आठ राजाहरूको सङ्घात्मक शासन थियो । त्यहीबाट एक याक्थुङ् जातिमा अनेक भाषा, संस्कृति, रीतिथितिको बीजारोपण भएको मान्न सकिन्छ । थिबोङ् याक्थुङ्हाङ् अर्थात् दस हाङ्हरूले ये़त्हाङ्हरू अर्थात् आठ राजाहरूलाई पराजित गरे पनि ये़त्छाम् थिम् अर्थात् आठ राजाले पालन गरेको रीतिथिति नै मान्ने गरेबाट याक्थुङ् समाजमा बहुलतामा एकता कायम भएको देखिन्छ । यसकै सैद्धान्तिक पृष्ठभूमिमा मुक्कुम्लुङ्माको नाममा पनि अनेकता पाइएको हुनुपर्दछ । कुनै ठाउँमा यसलाई मुक्कुम्लुङ्मा, कुनै ठाउँमा मगुम्लुङ्मा (रैप्रसाद हुक्पा चङ्बाङ, २०६६, पे. १३), कुनै ठाउँमा मुगुप्लुङ्मा, कुनै ठाउँमा सेमुक्ति(त्)लुङ्/ सेमुक्ति(म्)लुङ्, कोइफाङ्जङ् यम्बा आदि भनिएको हुनुपर्दछ । इम्बिरि याम्धाङ्वा र यभत्लुङ् फावामातिरको मुन्धुममा मुक्कुम्लुङ्मा नाम सेसे मुक्ति:त् मुक्ति:त्पुङको  समास रूप सेमुक्ति:त् मुक्ति:त्पुङ् रहेको देखिन्छ । यसरी नै से़ल्ले़ङ्वा से़म्भोमा तावामातिर कोइफाङ्जङ् यम्बा माङ् भनी मुन्धुमममा पुकारिने देखिन्छ । 

यसरी हेर्दा नाम यादृच्छित नभएर अर्थपूर्ण हुन्छ भन्ने भाषा वैज्ञानिक मान्यता अनुसार सेसे मुक्ति:त् मुक्ति:त्पुङ् पवित्र शक्ति बल्ने शक्ति केन्द्र भएको प्रतीत् हुन्छ । मुन्धुम र लोकप्रचलनमा वृहत्तर रूपमा प्रयुक्त मुक्कुम्लुङ्मा नामले पनि शक्ति दायिनी ढुङ्गो या पहाड भएको अर्थ बोध हुन्छ । यी दुवै नामको मूल कुरा भनेको ‘मुक्’ हो । यसले ‘शक्ति’ जनाउँदछ ।

निष्कर्ष

मुक्कुम्लुङ्मा मुन्धुम र लोकप्रचलित नाम हो । मुक्कुम्लुङ्मा नावा चइ:त् मुन्धुमको इक्सा खाम्बे:क् पो:ङ्मा मुन्धुममा प्रयुक्त त हुँदै हो । यसका साथै सावा ये़त्हाङ पो:ङ्मा मुन्धुमको योसुलुङ्मा मुक्कुम्लुङ्मासँग जोडिने नाम पनि हो । इम्बिरि याम्धाङ्वा र यभत्लुङ् फावामा क्षेत्रको मुन्धुममा सेमुक्ति (सेमुक्ति:त्/सेमुक्ति:म्) मुक्तिबुङ (मुक्ति:त्पुङ) नामले मुन्धुममा वर्णित देखिन्छ । सेमुक्ति (सेमुक्ति:त्/सेमुक्ति:म्) मुक्तिबुङ (मुक्ति:त्पुङ्)को विन्यास सेसे मुक्ति:त्/मुक्तिम् मुक्ति:त्पुङ हुन आउँछ । सेÞल्ले़ङ्वा से़म्भोमा तावामातिर मुक्कुम्लुङ्मालाई ‘कोइफाङ्जङ् यम्बा माङ्’ भनी सिरे? माङ्को रूपमा लिइन्छ भने कतिपय ठाउँमा यसलाई ‘मुगुप्लुङ्मा नामले पनि पुकारिन्छ । यसरी नै परम परमात्मा तागेरा निङ्वाफुमा माङको सावा ये़त्फे़क् के़ले़सिङ्मा (अनगिन्ती अवतारहरूमा अवतरित हुने) मध्ये जाज्वल्य शक्ति रूपिणी सेसे मुक्ति:त् मुक्ति:त्पुङ मुक्कुम्लुङ्मा युमा? माङका रूपमा अवतरित भएको यो पवित्र स्थल पनि हो । यी दृष्टान्तहरूले थिबोङ् याक्थुङहाङ इ:त्थिलि या थिम् अनुसार प्रत्येक याक्थुङ्हाङ क्षेत्रमा फरक नाम भए पनि थिबोङ याक्थुङ अस्तित्वमा समान हो भन्ने मान्यताका आधारमा एक थिबोङ्हाङ्ले अर्को थिबोङ्हाङ थिम्लाई स्वीकार्ने परम्परा अनुसार यो नाम ठीक र त्यो नाम बेठिक भन्न वाञ्छनीय देखिँदैन । यसर्थ, मुक्कुम्लुङ्माको विविध नामहरूलाई मध्यनजरमा राख्दै मुन्धुममा रहेको सेसे मुक्ति:त् मुक्ति:त्पुङ् साथै मुन्धुम र लोकप्रचलनमा रहेको मुक्कुम्लुङ्मालाई संयोजन गरी ‘सेसे मुक्ति:त् मुक्कुम्लुङ्मा’ भनी यसको नाम एकाकार गरिएमा यसको आध्यात्मिकता, लोक विश्वास र प्रचलन, याक्थुङ भाषा वैज्ञानिक स्थाननाम समेतको सही संयोजन हुने विश्वास गर्न सकिन्छ । 

तस्बिर स्रोत: google.com

सन्दर्भ सामग्रीहरू 

ᤁᤡᤖᤠᤋ ᤛᤡᤖᤡᤈᤱᤃᤠ

ᤗᤡᤶᤒᤢ, ᤈᤛᤖᤠᤈ, (᥈᥆᥆᥌), ᤔᤢᤈᤠᤣᤰᤗᤢᤱ ᤂᤠᤈᤠᤣᤰᤗᤢᤱ ᤔᤢᤴᤎᤢᤶ, ᤛᤢᤰᤂᤡᤶ ᤕᤠᤰᤌᤢᤱ ᤛᤠᤵᤗᤵᤐᤠ ᤆᤢᤶᤓᤠᤣ ॥ 


देवनागरी

काइँला, वैरागी, (वि.सं. २०६०), चइ:त् मुन्धुम, लिम्बु साहित्य विकास संस्था ।

कुरुम्बाङ, दिलेन्द्र, (२०७८, साउन २२), पाथीभरामा निसासिएको मुक्कुम्लुङको पहिचान’https://www.himalkhabar.com/news/124191

थापा, राजेश्वर, (२०७४), पावन परिवत्र मुक्कुम्लुङ्मा, चन्द्र मादेन अञ्छङ ।

माबुहाङ, अर्जुनबाबु, (२०७७, माघ १०), भाथीभरा होइन मुक्तिफोमाङhttps://www.himalkhabar.com/news/122031

मेन्याङ्बो, लक्ष्मण, (वि.सं. २०६२), याक्थुङ मुन्धुम, तेजबहादुर मेन्याङ्बो । 

लिम्बु, अम्बरजङ, (२०७७), मुन्धुमी अवस्थलहरूको अध्ययन प्रतिवेदन, किरात याक्थुङ चुम्लुङ लिम्बुवान अध्ययन केन्द्र ।

श्रेष्ठ, कृष्णप्रकाश, (वि.सं. २०४४), नेपाली स्थाननामको नालीबेली स्नानाम–कोष, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान । 

हुक्पा चङ्बाङ, रैप्रसाद, (वि.सं.२०६६), साम्बा मुन्धुम, हुक्पाचङ्बाङ परिवार । 


Roman 

Brinton, L. J., & E. C. Traugott. (2005). Lexicalization and Language Change. Cambridge University Press.

Fortson, B.W ., IV. 2003. An Approach to Semantic Change. In The Handbook of Historical Linguistics, edited by B. D. Joseph and R. D. Janda, 648-666. Blackwell.

Matisoff, J. A. (2003). Handbook of Proto-Tibeto-Burman: system and philosophy of Sino-Tibetan reconstruction. Univ of California Press.

Matisoff, J. A. (2008). The Tibeto-Burman reproductive system: Toward an etymological thesaurus (Vol. 139). Univ of California Press.

Nembang, Tilbikram. (2021, April 19). Hugdson Pandulipi (Hugdosn manuscript). Facebook. https://www.facebook.com/tilbikram.nembang.7

Radding, L., & Western, J. (2010). What's in a name? Linguistics, geography, and toponyms. Geographical review, 100(3), 394-412.

Room, A. (1996). An Alphabetical Guide to the Language of Name Studies. The Scarecrow Press. 

नोट: किरात याक्थुङ चुम्लुङ, जापानको प्रकाशित स्मारिका ‘मुक्कुम्लुङ्मा’मा २०७८ (सन् २०२१) मा प्रकाशित, पे. ५७-७२ ।









Comments

Popular posts from this blog

याक्थुङ लिम्बु प्रदर्शन कला ‘या? ला:ङ्’ !

याक्थुङ लिम्बू जातिका संस्कारहरू