यक्वा तङ्नाम/यक्वापूजा !

मञ्जुल याक्थुम्बा 

हामी सावा येहाङका सन्तति किरात वंशीय लिम्बूहरूले कृषियुगमा प्रवेश गरेदेखि नै हरेक साल बीउबिजन जमिनमा छरफोखगर्नु (रोप्नु) अघि आफ्ना इष्टदेवताहरू, पूर्वजहरू र प्रकृतिलाई यथाशक्य सम्मानका साथ पूजाआजा गरी सकेपछि मात्र खेतीपातीगर्ने वा बालीनाली लगाउने परम्परा परापूर्वकालदेखि आजसम्म गरिआएको छ । निर्मित पूजास्थलमा आई सभक्ति यथाशक्य अर्पण गरिएका सेवालाई अर्पणगरी समयमै वायु, वर्षात, घामपानी प्रदानगरी हामीले लगाएको बालीनाली विघ्नबाँधारहित सप्रोस, पाकोस् भनी सृष्टि पालन, संहारकर्ता, जलचर, थलचर, नभचर र सहस्यमय विश्वव्रम्हाण्डका मालिक, सर्वव्यापी, सर्व शक्तिमान, सर्वज्ञाता, अनन्त, अद्वितीय, अदृष्य महान्शक्ति, म्येन्निमाङ, म्येन्धामाङ, तागेरा निङ्वाफुमाङमा पुकार गर्दै यक्वापूजामा पुजिने विभिन्न साम्माङहरू, पूर्वजहरू र प्रकृतिसमेतको पूवाअर्चना गरी प्रार्थना गरिने पूजालाई नै यक्वापूजा भनिन्छ । यस समयमा सूर्य उत्तरायणतर्फ प्रवेशगर्दा वसन्त क्रतुको आगमनका साथै आरुफुल्ने, चराचुरुङ्गी र माछाहरूसमेत उँभोतर्फ (उत्तर) लाग्ने, बीजविजनहरूमा अङ्कुरणशक्ति पैदाहुने भएकोले यस पूजालाई खसभाषामा उँभौलीपूजा भन्ने गरिन्छ । 

किरात लिम्बू जातिमा वालीनाली लगाउनुअघि यक्वापूजा गरिन्छ भने नयाँ बाली पाकेपछि चासोकथिसोक पूजा गरिन्छ । यी दवबै पूजाहरूमा बाहिर पूजिने मिसेक्वा, कुइकुदापहरू र घरभित्रका हिमसाम्माङहरूको नियमित पूजा गर्नैपर्छ । यसका अतिरिक्त चासोक पूजामा सिबेरा याक्थुङ्मा, सिबेरा याभुङ्गेन याभुङ्ग्रेक्मा, थुङ्दाङबा र यक्वापूजामा खाम्जिरी खाम्बोङ्बा मगुइ थल्लङ्हाङ, याभुङ्ग्रेक याभुङ्गे्रक्मा, मादेनहाङ लुङ्गुम्हाङ, नुगोहाङ, हायुहाङ आदिको विशेष गरेर अनिवार्य रूपमा पूजा गरिन्छ । 



यक्वापूजाका सामग्रीहरू र पूजाविधि 

(क) कोदोको गेज, मर्चा र पानी मिसाएको पूजाको लागि साप्तोक (जाँडको प्रतीक) बनाइन्छ । 

(ख) मालिङ्गो, निगालो, नरकटमध्ये जे पाइन्छ त्यसबाट तल्लोपट्टि भुइँमा गाड्न सजिलो हुने चुच्चो पारी माथिपट्टि मुढेको ढुङ्गो ५–६ इन्च लामो बसाई त्यसभित्र साप्तोक हाली थितङ्बा बनाइन्छ । तङ्बा बनाउने वस्तुलाई नै चिरेर सिन्काजस्तो पिचिङ (पाइप) बनाइन्छ । तङ्बाभित्र पिचिङ हालेपछि सो पिचिङले केराको पातलाई प्वाल पारेर तङ्बाको बिर्को अथवा ढकनीले ढाकेपछि पूजाको लागि तङ्बा तयार हुन्छ । 

(ग) वासोफुङ्वेत (चिण्डो) वा लोहोटा÷डबकामा वादुम् पक्वा (चोखो पानी) हाली वासाङ्ना वा लाइक्इक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने वस्तु) तयार गर्नुपर्छ । 

(घ) विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाली र धूपीको धूलो धूप, अन्य सुगन्धित धूपहरू, भेटी, अक्षता, माङ्जा (नैवेद्य), अविर, केशरी, कपुर आदि तयार गर्नुपर्छ । 

(ङ) पूजा गरिने घरपरिवार वा समूहको सकेसम्म सम्पूर्ण सदस्यहरूको कमरभन्दा माथि प्रयोगहुने चोखो कपडाहरू प्रतीकको रूपमा मैनाम वा याबो सङ्कलन गर्नुपर्छ । ती सङ्कलित वस्त्रहरू लासो (देवस्थान) अगाडिपट्टि पूजागर्दा राख्नुपर्छ र अशीर्वाद माग्नुपर्छ । 

(च) ३ देखि ६ इन्च गहिरो जमिन खनेर निक्लेको माटोले जमिन सम्याउनुपर्छ । सम्याइएको जमिनमा पूजागरिने विभिन्न देवीदेवताहरूको लागि सुल्टैसुल्टो पारी केराको पात दुईसरो ओछ्याई लासो (देवस्थान) बनाइन्छ । लासोथाप्ने तौरतरिका दश लिम्बूवान शत्रथुममा एकै किसिमको हुनैपर्छ भन्ने छैन । आआफूले गरिआएअनुसार गरे हुन्छ । 

(छ) युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लिखित सामग्रीहरूका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दीयो जलाई पूजा गर्नुपर्छ । घरभित्र लासो थाप्दा जमिन खनी सम्याउनु पर्दैन । तर जङ्गल वा सार्वजनिक स्थानहरूमा हिमसाम्माङहरूको पूजागर्दाचाहिँ सेउलासेउली गाडेर हिम (घर) बनाई जमिन खनी सम्याएर लासो थाप्नुपर्छ । 

यक्वापूजा कसले, कहाँ, कसरी, कहिले गर्ने ? 

हाम्रो परम्पारअनुसार गाउँघरमा प्रत्येक परिवारले बालीनाली लगाउनुअघि आआफ्नो अनुकूलअनुसार देवारीहरूद्वारा पालैपालोगरी यक्वापूजा सम्पन्न गराउछन् । गाउँघरमाचाहिँ प्रायगरेर साँझपख पूजा सुरु गरिन्छ । पाएमा देवारी र नपाएमा जान्ने स्त्री, पुरुष जसले पनि यो पूजा गर्नसक्छ । तर बाहिर जङ्गल वा  सार्वजनिक स्थानहरूमा भने सामूहिकरूपमा यो पूजा दिनमा नै गर्ने चलन चुम्लुङले २०५१ सालदेखि गरिआएको छ । सामूहिक यक्वापूजा वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) मा मौलिक मुन्धुमअनुसार लिम्बूहरूले मात्र छुट्टै यक्वा पूजा गरेर पनि अन्य किरातजन्य संस्थाहरू किरात याक्खा छुम्मा, किरात सुनुवार समाज, किरात राई यायोक्खा र किरात कल्याण सङ्घसँग संयुक्तरूपमा सानो हात्तीवन किरात माङ्हिममा २०५१ सालदेखि मनाउँदै आएको छ । खासगेरर दश लिम्बूवान शत्रथुममा लिम्बूहरूले पूजील्याएको देवीदेवताहरू उहीउही नै हुन् । तिनीहरूको नाम र पूजाविधिमा भने ठाउँअनुसार केही फरक हुन सक्छ । तर मौलिक र तात्विक कुरामा फरक हुँदैन । 

माथि उल्लिखित तयार पारिएका पूजाका सामग्रीहरूमध्येबाट बाहिर पूजिने देवीदेवताहरूको लागि लासोअगडि १/१ जोर थितङ्बा वा साप्तोक ठड्याउनुपर्छ । लासोमा अक्षता, फलफूल, दूध, नैवेध, अविर, सिँदुर, भेटी राखी वादुम्पक्वाले फिम्मा गरेर सेसेसाङ्साङ भन्दै मुन्धुम फलाक्दै पूजा सम्पन्न गरिन्छ । पूजा सुरु गर्नुअघि धूलो धूप धुपौरोमा जलेको कोइलामा जलाउनुपर्छ । पूजा सकिएपछि तङ्बाको जाँड पिचिङले लासोमा छर्केर (चढाएर) तङ्बाहरू लडाई दिनुपर्छ । 

पूजा सकिनासाथ याबो (मैनामहरू) सम्बन्धित व्यक्तिहरूलाई आशीर्वादका साथ देवारीले फिर्ता दिने काम हुन्छ । त्यसपछि सबैमा प्रसाद वितरण र खानपिन सुरु हुन्छ । 

यक्वापूजामा बाहिर पूजिने देवीदेवताहरू 

१. मिसेक्पा – सम्पन्न गरिन लागेको पूजाकार्य बिघ्नबाधारहित सम्पन्न होस भन्नाका लागि सर्वप्रथम मिसेक्पाको पूजा गरिन्छ । 

२. कुइकुदाप वा ताफेÞम्बा वा ताम्भुङ्ना – गृहस्थी जीवनमा विघ्नबाधा नदिइयोस भनी मनाइने शिकारी वनदेवता वनदेवीहरू यस प्रकार छन् । 

(क) तक्सङ्बा – विघ्नवाधा नाशक मालिङ्घारी निगालोघारीमा बासगर्ने शिकारी देवता । 

(ख) सिरिङ्मा वा मुदेन्हाङ्मा – किरात लिम्बूहरूको रक्षागर्न उत्तरबाट याक्थुङ्लाजे प्रवेशगरेकी देवी । 

(ग) तेन्छामा – दक्षिणबाट याक्थुङलाजे प्रवेश गरेकी देवी । 

(घ) खञ्जमा वा खजमा – कहिले उत्तर कहिले दक्षिणतिर घुमिहिँड्ने देवी । 

(ङ) वजमा – बिजुवा, येबा, येमा, फेदाङ्मा आदि तान्त्रिकहरूबाट पनि गुरु मानिएकी उनीहरूमा शक्ति प्रदान गर्ने देवी । 

(च) वरक्मा वा वारक्मा – नदीनाला, तालतलाउ, महासागर, कुवा, इनार आदि पानीजन्य दुर्घटनाबाट जोगाइदिने देवी । 

मिसेक्पा र कुइकुदापहरूको पूजा गरिसकेपछि यक्वापूजामा विशेषरूपले पूजागर्नु पर्ने निम्न पितृदेवदेवीहरू वा पूर्वजदेवदेवीहरूको पूजा गरिन्छ । 

१. खाम्जिीरी खाम्बोङ्बा – याक्थुङलाजे जमिनका अधिपति अगुवा पूर्वज । 

२. मगुई थल्लङ्हाङ – किरात लिम्बूजातिमा कृषिकर्मको थालनी गर्ने अगुवा पूर्वज । 

३. याभुङ्गेन् याभुङ्ग्रेक्मा – बीउबिजनका मालिकनी । 

४. मादेन्हाङ लुङ्गुम्हाङ – कृषिकार्यमा आइलाग्ने बिघ्नबाधा हटाउन उपाय सिकाउने अगुवा पूर्वज । 

५. नुगोहाङ – उत्पादित अन्नहरू राखनधारनगर्न कलाकौशल सिकाउने अगुवा पूर्वज । 

६. हायुहाङ – कृषिकर्ममा आसन्न प्राकृतिक प्रकोपहरूको सामनागरी सदैब कृषकहरूको संरक्षकको भूमिका खेल्ने अगुवा पूर्वज । 

बाहिरका माथि उल्लिखित देवीदेवताहरूको पूजा सम्पन्न गरेपछि मात्र घरभित्रका हिमसाम्माङहरूको पूजा गर्नुपर्छ । 

हिमसाम्माङहरू 

१. काप्पोबा हिमसाम्माङ – घरको रक्षागर्ने बूढाबाजे देवता । 

२. काशीहाङ्मा – युमासाम्माङसँग साथ लागि आएकी उनको सहयोगी देवी । 

३. युमासाम्माङ – तागेरा निङ्वाफुमाङ मातृशक्तिको रूपमा प्रकट भएकी लिम्बूहरूको सर्वोपरि इष्टदेवी ।

४. थेबासाम्माङ – तागेरा निङ्वाफुमाङ पितृशक्तिको रूपमा प्रकट भएका लिम्बूहरूका आदि पुरुष देवता अर्थात् अग्रज देवता (बाजे देवता) । 

हामी किरात लिम्बूहरूको यक्वा तङ्नामलाई स्वस्फुर्तरूपले निरन्तरता दिन नसकिएसम्म सामूहिकरूपमा चुम्लुङको सकृयतामा यक्वा तङ्नाम मनाउन २०५१ सालदेखि सुरुगर्ने निर्णय भएको हो । तर हाम्रा ११ जिल्ला शाखाहरू र २१२ गाविस शाखाहरूमा हामीले चाहेजति प्रचारप्रसार गर्न सकेका छैनौँ । साँच्चै नै भन्ने हो भने चुम्लुङकै नेतृत्वगर्ने व्यक्तिहरूबाट हाम्रो चाडलाई निरन्तरता दिन प्रभावकारी भूमिका खेलिनुपर्ने हो । यस सम्बेदनशील विषयमा निम्नअनुसार कार्यगरी हाम्रो मौलिक यक्वा तङ्नामलाई वचाइराख्न सम्पूर्ण किरात लिम्बूहरू समर्पित होऔँ भन्ने निवेदन गर्दछु । 

१. हाम्रो यक्वा तङ्नाम नै हाम्रो मौलिक चाड हो भन्ने कुरालाई कहिल्यै नभुलौँ । 

२. केन्द्रदेखि जिल्ला र गाविस शाखाका पदाधिकारी एवम् सदस्यहरूले अनिवार्य रूपमा यक्वा तङ्नाम मनाउनमा सहभागी भएर त्यस चाडको महत्वबारे गर्वका साथ व्यापक प्रचारप्रसार गरौँ । 

३. प्रत्येक वर्ष जिल्लाजिल्ला र गाउँगाउँमा स्वस्फुर्तरूपले भव्यताका साथ यक्वा तङ्नाम मनाउन जिल्ला र केन्द्रबाट लिम्बूवान क्षेत्रहरूको भ्रमण कार्यक्रम राखौँ । 

४. मुन्धुमविद् सम्बा, येबाहरू उपलब्ध हुन्छन् र अनुकूल मिल्छ भने यक्वापूजा (तङ्नाम) मा माङ्हुप वादेम्मा (साकमुरा वादेम्मा) र एकराते तङ्सिङ तक्मा पनि गर्नसकेमा हाम्रो संस्कृतिको संरक्षणगर्नमा ठूलो टेवा मिल्ने थियो । 

५. देवारीहरूको मात्र भरनपरी माथि उल्लेख भएअनुसार आआफ्नो घरमा आफैँले यक्वापूजा सम्पन्न गर्न सक्नेगरी प्रशिक्षण लिने र दिने अभियान अहिलेदेखि नै चलाऔँ । किनकि संस्थागत रूपमा भन्दा स्वस्फुर्तरूपले यक्वा तङ्नामको महतव दिई घरघरमै अनिवार्यरूपले बानी बसे मात्र हाम्रो संस्कृतिको जगेर्ना हुन्छ । 

स्रोतः मौलिक किरात धर्म संस्कार (लेख तथा अन्तर्वार्ता सङ्ग्रह), २०६२


Comments

Popular posts from this blog

याक्थुङ लिम्बु प्रदर्शन कला ‘या? ला:ङ्’ !

याक्थुङ स्थाननाम, मुन्धुम र लोकविश्वासमा मुक्कुम्लुङ्मा !

याक्थुङ लिम्बू जातिका संस्कारहरू