इमानसिंह चेम्जोङका बहुआयामहरु
- अमर तुम्याहाङ विषय प्रवेश २०६९ पुस १७ गते आयोजित किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको ११० औँ जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार वितरण समारोहमा प्रस्तुत भएको सम्भाषणीय यस लेखमा मूलतः इमानसिंह चेम्जोङका व्यक्तित्वका विभिन्न आयामहरुबारेमा संक्षेपमा बुँदागत रुपमा प्रकाश पार्ने जमर्को गरिएको छ । प्रसङ्गवश सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा "बोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छ" भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको "वादविवाद बोलेर होइन लेखेर गर" भन्ने भनाइबाट बोल्नु र लेख्नु कुन बढी चिरस्थायी हुन्छ भन्ने कुरा मुखरित हुन्छ । लिम्बू गाउँघरका मान्यवर लिम्बू बूढाबूढीले भन्ने गरेको "युङ्माआङ पाःप्माल्ले़ हाःत्ले़आङ मे़ङ्घे़प्सुन् ये़प्माआङ् पाःप्मे़ल्ले़ सुरित्तिल्ले़ पक्सुदेरुू अर्थात् बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ भन्ने भनाइ...